६७ लाखमा ७ हजार ‘क्याट्स आई’ राखिँदै, दुर्घटना कम गर्न सहयोग पुग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा ७ हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ । रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ ।

त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । लैनचौर,  कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनेलगायत स्थानमा ६७ लाख रुपैयाँ बराबरको लागतमा क्याट्स आइ राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए ।

क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ । 

धेरै स्थानमा सडक चिन्ह मेटिएका छन् । त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो । 

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ ।

Share News