काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।
बैंकले काठमाडौं उपत्यकाबाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त आवेदनमध्ये छनोट गरी ७५ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व हुने गरी बैंकले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो । यसअघि पनि बैंकले यस्ता विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ ।
सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको यस छात्रवृत्तिले उनीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै व्यक्तित्व विकास र अध्ययन निरन्तरतामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।