प्रभु बैंकको नेतृत्वमा शर्मा : लाभांश पाउने आशा, एनपीएल घटाउनुपर्ने चुनौती

काठमाडौं । प्रभु बैंकको व्यवस्थापकीय नेतृत्व सुमन शर्माले सम्हालेका छन् । बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेसँगै शर्माले मंगलबारदेखि कार्यभार सम्हालिसकेका छन् । बैंकका कम्पनी सचिव अमित भण्डारीका अनुसार सञ्चालक समितिले शर्मालाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले राजीनामा दिएपछि सञ्चालक समितिले उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव हासिल गरेका शर्मा अनुभवी तथा कुशल बैंकरका रूपमा चिनिन्छन् ।

यसअघि शर्मा साबिक सनराइज बैंकको सीईओका रूपमा कार्यरत थिए । सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी बाहिरिएका थिए । त्यसअघि उनले माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी सम्हाल्नुका साथै ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल राख्ने शर्मालाई सक्षम व्यवस्थापकका रूपमा हेरिन्छ ।

एमबीए गोल्ड मेडलिस्ट शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनले डेकोर कन्सलटेन्सीमा समेत काम गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा पक्राउ परेपछि अशोक शेरचन बैंकको सीईओ पदबाट निलम्बनमा परेका थिए । बैंकको शीर्ष व्यवस्थापन तह नै विवादमा तानिएपछि यस विषयले व्यापक चासो र चर्चा पाएको थियो, जसका कारण सीआईबीले औपचारिक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा शेरचन केही समय थुनामा रहे पनि पछि थुनामुक्त भएका थिए । थुनामुक्त भएको केही समयपछि शेरचनले बैंकको सीईओबाट राजीनामा दिएका हुन् । याे कठिन अवस्थामा बैंकको व्यवस्थापन नेतृत्व सम्हाल्ने जिम्मेवारी अनुभवी बैंकर सुमन शर्मालाई दिइएको हो ।

यस्तो छ बैंकको वित्तीय अवस्था

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म प्रभु बैंकको खुद नाफा २४.०७ प्रतिशतले घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८६ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ३७ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६९ करोड ६४ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १२ करोड २२ लाख ४९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६६ करोड ७५ करोड २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख ३६ हजार रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य नाफा ३ खर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख २ हजार रुपैयाँ छ । 

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ र कर्जा लगानी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ४५ करोड ५९ लाख २३ रुपैयाँ कर्जा लगानी गरेको थियो । 

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.३६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.३० रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.०६ प्रतिशत खराब कर्जा थियो ।

प्रभु बैंकका अध्यक्ष किशोर जंग कार्कीले पछिल्लो समय बैंकमा देखिएका अप्रत्याशित घटनाका बाबजुद बैंकको कामकारबाही र वित्तीय अवस्था सामान्य र स्थिर रहेको बताए । बैंकका नवनियुक्त सीईओ सुमन शर्माले गर्नुपर्ने काम र जिम्मेवारी बैंक तथा वित्तीय संस्था ऐनमै स्पष्ट उल्लेख रहेको उनको भनाइ छ । 

अध्यक्ष कार्कीका अनुसार सीईओ, डीसीईओलगायत केही कर्मचारी छानबिनमा परेपछि जनमानसमा अन्योल र आशंका देखिनु स्वाभाविक भए पनि सञ्चालक समितिले समयमै वैकल्पिक व्यवस्था गरेकाले बैंकको कामकाजमा असर पर्न दिइएन । ‘बैंक अहिले पनि ठिकठाक चलिरहेको छ । सबै सूचक सामान्य अवस्थामा छन्,’ उनले भने ।

उनले बैंकमा सुधार प्रक्रिया निरन्तर चलिरहने उल्लेख गर्दै वर्तमानभन्दा अझ राम्रो प्रदर्शनका लागि दीर्घकालीन दृष्टिकोणसहित रणनीतिक कार्ययोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘हामीसँग रणनीतिक कार्ययोजना छन् । तिनलाई समयसापेक्ष सुधार र परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,’ अध्यक्ष कार्कीले भने ।

नवनियुक्त सीईओ शर्माले नीति, संरचना र कार्यान्वयनका पक्षमा रहेका कमजोरी, चुनौती र सम्भावनालाई सूक्ष्म रूपमा विश्लेषण गर्दै सुधारका कदम चाल्नुपर्ने उनको धारणा छ । बैंकभित्रका आन्तरिक समस्या र अवसर पहिचान गरी संस्थालाई थप सुदृढ बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा रहेको उनले बताए । 

‘सीईओ, डीसीईओ पक्राउ परेपछि पनि बैंकप्रति जनताको विश्वास घटेको छैन । सूचकहरूले नै त्यो कुरा पुष्टि गर्छन् । अब त्यो विश्वास अझ मजबुत बनाउनुपर्छ,’ उनले जोड दिए ।

अध्यक्ष कार्कीले बैंकले पछिल्ला तीन वर्षदेखि लाभांश वितरण गर्न नसकेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । यसका कारणहरू भए पनि त्यसैलाई बहाना बनाएर पन्छिन नमिल्ने उनको भनाइ छ । ‘कतिपय बैंकले लाभांश दिइरहेका छन् । त्यसैले व्यवस्थापनले पनि यसतर्फ गम्भीर सोच्नुपर्छ,’ उनले भने ।

सञ्चालक समिति र व्यवस्थापनबीचको भूमिकाबारे स्पष्टता दिँदै उनले बैंक तथा वित्तीय संस्था ऐनले दुवै पक्षको जिम्मेवारी स्पष्ट पारेको उल्लेख गरे । सञ्चालक समितिको भूमिका नीति निर्माण र अनुगमन गर्ने र व्यवस्थापनको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा नीति कार्यान्वयन गर्ने रहेको उनले बताए ।

‘सञ्चालक समिति र व्यवस्थापनको उद्देश्य एउटै हो– बैंक र सेयरधनीको हित तथा कर्पोरेट गभर्नेन्सको सुदृढीकरण,’ अध्यक्ष कार्कीले भने, ‘नयाँ सीईओले बैंकलाई लाभांश दिन सक्ने अवस्थामा पुर्याउन केन्द्रित भएर काम गर्ने विश्वास छ ।’

बैंकका एक उच्च व्यवस्थापक कर्मचारीले नवनियुक्त सीईओ सुमन शर्मा सक्षम, अनुभवी र प्रोफेशनल बैंकर भएको बताउँदै बैंकभित्र देखिएका समस्या समाधान गर्न उहाँ उपयुक्त व्यक्ति भएको बताए । उनका अनुसार शर्मा कम्प्लायन्स र नीति–नियम पालनामा कडाइ गर्ने बैंकर हुन् र विगतमा विभिन्न बैंकको सीईओका रूपमा काम गरिसकेको अनुभव बैंकका लागि हितकारी हुने छ । 

समग्र बैंकिङ क्षेत्रमा कर्जा असुली मुख्य चुनौती रहे पनि प्रभु बैंकसँग सक्षम टिम भएकाले नेतृत्व सशक्त भए अब सुधार सम्भव हुने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्र बैंकको मापदण्ड अनुसार बैंकका अधिकांश सूचक सामान्य अवस्थामा रहे पनि खराब कर्जा करिब ८ प्रतिशत पुगेको र विगत तीन वर्षदेखि लाभांश दिन नसकिएको स्वीकार गर्दै आगामी दिनमा कर्जा असुली र नयाँ लगानी विस्तारमा जोड दिइने व्यवस्थापनको भनाइ छ ।

समग्र बैंकिङ क्षेत्रमा कर्जा असुली प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उनले यो समस्या प्रभु बैंक मात्र नभई सम्पूर्ण बैंकिङ क्षेत्रले भोगिरहेको बताए । राष्ट्र बैंकको मापदण्ड अनुसार बैंकका सूचक सामान्य अवस्थामा रहे पनि खराब कर्जा करिब ७.९४ प्रतिशत पुगेको र विगत तीन वर्षदेखि लाभांश वितरण हुन नसकेको स्वीकार गरिएको छ ।

व्यवस्थापनले आन्तरिक तथा बाह्य चुनौती सामना गर्न कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन मजबुत बनाउने, मानव स्रोत विकास, डिजिटल प्रणाली सुदृढीकरण र गैर–ब्याज आम्दानी वृद्धि जस्ता रणनीति अवलम्बन गरेको जनाएको छ । सक्षम टिम र नयाँ नेतृत्वका कारण आगामी दिनमा बैंकको अवस्था सुधार हुनेमा व्यवस्थापन आशावादी छ ।

Share News