विश्वकै धनी व्यक्ति मस्कको हार, अमेरिकी एसईसीको मुद्दा खारेज गराउने प्रयास असफल

काठमाडौं । मंगलबार एक संघीय न्यायाधीशले सन् २०२२ मा ट्वीटर (हाल एक्स) का सेयर खरिदबारे जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको आरोप लगाउँदै अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले दायर गरेको मुद्दा खारेज गर्न एलन मस्कले याचिका अस्वीकार गरेका छन् ।

वाशिङ्टन डीसीस्थित अमेरिकी जिल्ला न्यायाधीश स्पार्कल सुक्नाननले मस्कले पेश गरेका कुनै पनि तर्कले मुद्दा खारेज गर्न आधार नदिने बताए । एसईसीले आफूलाई आलोचना गरेकै कारण दण्डित गर्न अधिकारको अति प्रयोग गरेको भन्ने मस्कको दाबीसमेत अस्वीकार गरियो ।

मस्कका वकिलहरूले टिप्पणीका लागि गरिएका अनुरोधमा तत्काल प्रतिक्रिया दिएनन् । एसईसीका प्रवक्ताले पनि टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

एसईसीले जनवरी २०२५ मा मस्कविरुद्ध मुद्दा दायर गर्दै सन् २०२२ को मार्च अन्त्य र अप्रिल सुरुतिर ट्वीटरमा आफ्नो प्रारम्भिक ५ प्रतिशत स्वामित्वबारे जानकारी दिन ११ दिन ढिलाइ गर्दा मस्कले कृत्रिम रूपमा कम मूल्यमा ५० करोड अमेरिकी डलरभन्दा बढीका सेयर किन्न सकेको आरोप लगाएको छ ।

एसईसीले मस्कले अनभिज्ञ लगानीकर्ताहरूको खर्चमा बचत गरेको भनिएको १५ करोड अमेरिकी डलर फिर्ता गर्नुपर्नेका साथै नागरिक जरिवाना तिर्नुपर्ने माग गरेको छ ।

मस्कले उक्त ढिलाइ अनायासै भएको बताएका छन् । साथै उनले एसईसीको मुद्दालाई संघीय सेक्युरिटिज कानुनको ‘चयनात्मक कार्यान्वयन’ भन्दै अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत सुरक्षित अभिव्यक्ति स्वतन्त्रताका रूपमा पर्ने ‘सरकारी अधिकारको अति प्रयोग’माथि गरेको आलोचनाका कारण आफूलाई लक्षित गरिएको दाबी गरेका छन् । 

उनले १५ करोड अमेरिकी डलरको भुक्तानीलाई अत्यधिक जरिवाना भन्दै समान प्रकृतिका अन्य मुद्दामा एसईसीले माग गरेको करिब १ लाख अमेरिकी डलरको जरिवानाभन्दा धेरै ठूलो भएकाले संविधानको आठौं संशोधनको उल्लङ्घन हुने पनि बताएका छन् ।

एसईसीका अनुसार सेयरधारकले ५ प्रतिशत स्वामित्व पुगेपछि १० क्यालेन्डर दिनभित्र त्यसको खुलासा गर्नुपर्छ ताकि अन्य लगानीकर्ताहरू अन्धकारमा नपरी आफ्नो सेयर बिक्री गर्ने निर्णय गर्न सकून् ।

४५ पृष्ठ लामो फैसलामा न्यायाधीश सुक्नाननले उक्त प्रावधान कम्पनीको नियन्त्रण लिन खोज्दा सस्तो मूल्यमा सेयर किन्ने अभ्यास रोक्न कंग्रेसको उद्देश्य देखिने बताएका छन् ।

‘कम्पनीको नियन्त्रण लिन प्रयास गर्दै गर्दा सेयर मूल्य बढाउन सक्ने जानकारी खुलासा गर्नुपर्ने अवस्थाबाट जोगिन श्री मस्क चाहनु स्वाभाविक हो,’ न्यायाधीशले लेखेका छन्, ‘तर कंग्रेसले तय गरेको सन्तुलन ‘ पहिलो संशोधनको उल्लङ्घन होइन ।’

मस्क लामो समयदेखि एसईसीसँग विवादमा रहेका छन् ।

सन् २०१८ मा उनले ट्वीटरमार्फत आफ्नो विद्युतीय कार कम्पनी टेस्लालाई निजी बनाउने र त्यसका लागि वित्तीय स्रोत सुनिश्चित भइसकेको दाबी गरेपछि नियामक निकायले मस्कविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा मस्कले २ करोड अमेरिकी डलर नागरिक जरिवाना तिरेर, टेस्लाका वकिलहरूलाई केही ट्वीटर पोस्टहरू अग्रिम समीक्षा गर्न दिने सहमति जनाएर र टेस्लाको अध्यक्ष पद त्यागेर समाधान गरेका थिए ।

मस्कले अक्टोबर २०२२ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरी यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखे ।

सोमबार मस्कले आफ्नो रकेट तथा स्याटेलाइट निर्माता कम्पनी स्पेसएक्सले उनको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई अधिग्रहण गरेको बताएका छन्, जसको सम्पत्तिमा एक्स पनि समावेश छ । उक्त मर्जरपछि करिब १.२५ ट्रिलियन अमेरिकी डलर मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ ।

फोब्र्स पत्रिकाका अनुसार मस्कको नेटवर्थ ८५१.६ अर्ब अमेरिकी डलर छ, जुन दोस्रो स्थानमा रहेका गुगलका सह–संस्थापक ल्यारी पेजको २७७.५ अर्ब अमेरिकी डलर सम्पत्तिभन्दा तीन गुणाभन्दा बढी हो ।

Share News