नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कम्पनीले उक्त योजना बजारमा ल्याएको हो ।

यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिए ।

नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नवीन तथा ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा सार्वजनिक गर्दै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

यो एक वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँदेखि सुरु हुनेछ । यसअन्तर्गत बीमितले पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । साथै, १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यो बीमा योजना लिन सक्नेछन् ।

‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको आकस्मिक तथा दुर्घटनाजन्य मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । यस योजनाले आकस्मिक जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा आर्थिक सहारा प्रदान गर्ने विश्वास गरिएको छ ।

ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । खरिदपछि पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

Share News