सन नेपाल लाइफद्वारा चारदिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (SIST)’ तालिम सुरु गरेको छ ।

रूपन्देहीको अगैया स्थित ‘स्प्रिङ रिभरसाइड रिसोर्ट’ मा आयोजना गरिएको उक्त तालिम मिति १९ गते उद्घाटन गरिएको हो । तालिम १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक तथा प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए । यस्ता तालिमले संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी क्षेत्रीय प्रमुख दिपेन्द्र रावत अतिथिका रूपमा उपस्थित थिए ।

तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह, आधुनिक बीमा अभ्यास, बिक्री तथा सेवा क्षमता वृद्धि, व्यावसायिक आचरण, प्रविधिको प्रयोग र बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गरिँदैछ ।

यस तालिमका मुख्य प्रशिक्षकका रूपमा गणेश चौलागाईं, भुवन सिंह मुरी मगर तथा दिपेन्द्र रावत सहभागी छन् ।

तालिमले स्थानीय अभिकर्ताहरूलाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

Share News