सिडिएससीः ३० करोड पुँजी, १८ अर्ब १९ करोड कर

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले एकै आर्थिक वर्षमा सवा १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा दोस्रो बजार कारोबारबाट पुँजीगत लाभकर, टिडिएस तथा आकस्मिक लाभकरमार्फत कुल १८ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

कम्पनीका अनुसार उक्त अवधिमा पुँजीगत लाभकरबापत १६ अर्ब ५३ करोड रुपैयाँ, टिडिएसबापत १ अर्ब ६३ करोड रुपैयाँ तथा आकस्मिक लाभकरबापत ३ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सिडिएससीले पुँजीगत लाभकरबापत ५ अर्ब ५० करोड रुपैयाँ, टिडिएसबापत ४१ करोड रुपैयाँ र आकस्मिक लाभकरबापत १ करोड रुपैयाँ गरी कुल ६ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कुल ३ अर्ब ३९ करोड रुपैयाँ, २०७८/७९ मा ११ अर्ब ४३ करोड रुपैयाँ, २०७७/७८ मा १५ अर्ब ५७ करोड रुपैयाँ र २०७६/७७ मा १ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको कम्पनीको तथ्याङ्क छ ।

null

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०६७ सालमा स्थापना भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्रहरूको अभौतिकीकरण, निक्षेप, भुक्तानी, हस्तान्तरण तथा कारोबार अभिलेख व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को शतप्रतिशत स्वामित्वमा अधिकृत पुँजी ५० करोड रुपैयाँ र चुक्ता पुँजी ३० करोड रुपैयाँ रहने गरी स्थापना भएको सिडिएससीको सेयर स्वामित्व संरचना वि.सं. २०८१ पुस २८ मा सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट परिवर्तन गरिएको छ । हाल कम्पनीमा नेपाल सरकारको ४९.०७ प्रतिशत र नेप्सेको ५०.९३ प्रतिशत स्वामित्व रहेको छ ।

स्वामित्व परिवर्तनपछि सञ्चालक समितिमा नेप्सेका कार्यकारी प्रमुख/महाप्रबन्धक अध्यक्ष रहने व्यवस्था गरिएको छ । साथै अर्थ मन्त्रालयका दुई प्रतिनिधि, नेप्सेको उच्च तहको एक जना महिला प्रतिनिधि र एक जना स्वतन्त्र/विशेषज्ञ सञ्चालकसहित पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।

सिडिएससीले भारतको सेन्ट्रल डिपोजिटरी सर्भिसेज इन्डिया लिमिटेड (सीडीएसएल) को परामर्शमा तत्कालीन सिएमसि इन्डिया लिमिटेड (हाल टाटा कन्सल्टेन्सी सर्भिसेज-टीसीएस) सँग सहकार्य गरी केन्द्रीय निक्षेप, राफसाफ तथा फछ्यौट प्रणाली विकास गरेको हो ।

सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सिडिएससीले सि–आस्बा, मेरो सेयर तथा केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान (ई–केवाइसी) जस्ता सेवा सञ्चालनमा ल्याएको छ । यी सेवाले प्राथमिक बजारमा आमूल परिवर्तन ल्याउनुका साथै लगानीकर्तालाई घरबाटै सेयर नामसारी गर्ने सुविधा प्रदान गरेको छ ।

null

कम्पनीका अनुसार पछिल्ला पाँच वर्षमा सिडिएससीको खुद नाफा क्रमिक रूपमा बढ्दै गएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७५ करोड ९५ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६५.७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै, कम्पनीले आर्थिक वर्ष २०७९/८० ४० करोड ८९ लाख रुपैयाँ, आव २०७८/७९ मा ५८ करोड ८८ लाख रुपैयाँ र आव २०७७/७८ मा ५७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा, १ अर्ब ३२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २० करोड रुपैयाँ खर्च गरेको छ  । अघिल्लो आव २०८०/८१ मा ६७ करोड रुपैयाँ सञ्चालन नाफा, ८६ करोड रुपैयाँ कुल आम्दानी र १८ करोड रुपैयाँ कुल खर्च गरेको थियो । 

Share News