काठमाडौं । लामो समयदेखि अल्झिएको स्वास्थ्य बीमा प्रणालीको समस्यालाई समाधान गर्ने दिशामा सरकार सक्रिय बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमामा देखिएका जटिलता अन्त्य गर्न ठोस पहल सुरु गर्दै सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल आह्वान गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार अपराह्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बैठक बस्नेछ । बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, अस्पताल सञ्चालक तथा अन्य सरोकारवाला पक्ष सहभागी हुनेछन् ।
पछिल्लो समय देशका विभिन्न भागका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम समयमै नपाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि भुक्तानी नहुँदा उपचार सेवा सञ्चालनमै गम्भीर समस्या उत्पन्न भएको बताएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसले बिमित नागरिकको उपचार सेवामै प्रत्यक्ष असर पर्न थालेपछि सरकारमाथि चर्को दबाब सिर्जना भएको थियो ।
प्रधानमन्त्री कार्कीको पछिल्लो पहललाई स्वास्थ्य बिमा प्रणालीलाई पुनः विश्वासयोग्य बनाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । आजको छलफलबाट भुक्तानी प्रक्रिया सहज बनाउने र सेवा अवरुद्ध नहुने दीर्घकालीन समाधानको बाटो खुल्ने अपेक्षा गरिएको छ ।