नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा ‘फ्युचर ग्रेट अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्मानित भएका छन् । ‘द गोल्ट एन्ड मिलो अवार्ड्स २०२६’ अन्तर्गत व्यक्तितर्फको ‘फ्युचर ग्रेट अफ द इयर’ विधामा उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

उक्त अवार्ड युएईको प्रतिष्ठित होटल एटलान्टिस द रोयलमा सोमबार आयोजित समारोहमा प्रदान गरिएको हो । 

व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफहरू पुरस्कृत भएका थिए भने १२ वटा रेस्टुरेन्टहरू पनि विभिन्न विधामा सम्मानित भए ।

हाल श्रेष्ठ युएईको टु–मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफ का रूपमा कार्यरत छन् । उनी विश्वका सर्वाधिक प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा समेटिएका नाम हुन् । मिसेलिन गाइड २०२५ मा उनले लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् ।

बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लिया मा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् । परिवारका अन्य सदस्यभन्दा फरक बाटो रोज्दै उनले पाककला क्षेत्रमा करिअर निर्माण गरेका हुन् ।

विश्वविद्यालयको अध्ययनपछि उनले ले म्यान्वार ओ क्वा सैजों र मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता चर्चित मिसेलिन–स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिए । त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्टहरूमा अनुभव बटुल्दै अन्ततः युएईको ‘रो अन ४५’ सम्मको यात्रामा पुगेका हुन् ।

Share News