मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । सोमबार बुढानीलकण्ठबाट प्रहरीको चेकजाँचमा चोरीको भेस्पा स्कुटरसहित बाजुराका २० वर्षीय हेमराज बोहरालाई प्रहरीलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बागमती प्रदेश ०२-०२३ प ५८८० नं. स्कुटरसहित उनलाई पक्राउ गरिएको हो ।

त्यसैगरी, नयाँ बसपार्कस्थित मित्रनगरमा पार्किङ गरी राखेको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा जाजरकोट, शिवालय गाउँपालिका ६ का २० वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफू बस्ने होटेलको पार्किङमा चोरीको मोटरसाइकलको नम्बर प्लेट समेत परिवर्तन गरेर लुकाएर राखेका थिए । प्रहरीले सोही स्थानमा एउटै नम्बर प्लेट भएको अर्को मोटरसाइकलसमेत फेला पारेको थियो ।

खत्रीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

Share News