पुनर्बीमा कम्पनीले दिएनन् दाबी भुक्तानी, प्राधिकरण पुगे बीमा कम्पनी

कुन कम्पनीलाई कति भुक्तानी दिन बाँकी ?

काठमाडौं । पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको गुनासो बोकेर निर्जीवन बीमा कम्पनीहरू नेपाल बीमा प्राधिकरणमा पुगेका छन् । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीहरूबाट बीमा कम्पनीहरूलाई दिनुपर्ने रकम भुक्तानीमा सहजीकरण गरिदिनुपर्यो भनेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

बीमक संघका अनुसार दुई पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई २ अर्ब रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको छ । जसमध्ये नेपाल रि इन्स्योरेन्सबाट ८२ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, हिमालयन रिले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।

संघका अध्यक्ष वीरेन्द्र वैदवारले पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी नदिँदा बजारमा समस्या भएको बताए । 

‘पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीलाई दिनुपर्ने भुक्तानी समयमै नहुँदा बजारमा असहज भएको छ, त्यो रकम दियो भने हामीलाई यता जेनजीको भुक्तानी तिर्नलाई सजिलो हुन्छ,’ उनले भने । 

उनले कम्पनीलाई पुनर्बीमाले तिर्नुपर्ने १०/२० करोडको लागि मात्रै गुनासो गरेको नभएर समग्र बजारमा देखिएको समस्या समाधान होस् भनेर संघले प्राधिकरणसमक्ष निवेदन पेश गरेको सुनाए । 

प्राधिकरणसमक्ष ध्यानाकर्षण गराएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ । ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, खासमा अहिले पुनर्बीमा कम्पनीभित्र पनि समस्या नै छ,’ उनले भने । 

यता नेपाल बीमा प्राधिकरणले पनि बीमक संघबाट रि इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी नदिएको भन्ने पत्र प्राप्त भएको बताएको छ । प्राधिकरणका अनुसार यस विषयमा दुवै पक्षलाई सँगै राखेर छलफल अगाडि बढाउने तयारी गरेको छ । 

कुन कम्पनीलाई कति भुक्तानी दिन बाँकी ? 

पुनर्बीमा निर्देशिकाको परिच्छेद ९ दफा २६ अनुसार बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनदेन अर्को त्रैमासिक अवधिभित्र राफसाफ गर्नुपर्ने र सोही दफाको उपदफा (२) मा बीमकले अर्को बीमकसँग गरेको फ्याकल्टेटिभ पुनर्बीमा कारोबार प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को वैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीलाई तिर्नुपर्ने रकम समयसीमा भित्रै भुक्तानी गर्ने गरेको भएता पनि पुनर्बीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएको संघले पत्रमा उल्लेख गरेको छ ।

नेपाल बीमक संघका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई हिमालयन रिले १७ करोड ७१ लाख १५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीले नेपाल रिलाई भने २६ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

नेपाल रिले एनएलजी इन्स्योरेन्स कम्पनीलाई २ करोड ६७ लाख रुपैयाँ र हिमालयन रिले ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सानिमा जिआईसी इन्स्योरेन्सलाई हिमालन रिले भुक्तानी गर्न बाँकी रकम १८ करोड ४१ लाख रुपैयाँ रहेको छ । उक्त कम्पनीले नेपाल रिलाई भने २ करोड ९० लाख रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले हिमालयन रिबाट २ करोड ६७ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई नेपाल रिले ४९ करोड ८२ लाख रुपैयाँ हिमालयन रिले ३१ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको संघले जनाएको छ । 

यसैगरी, आइजिआई प्रुडुन्सियललाई हिमालयन रिले ११ करोड रुपैंयाँ बराबरको भुक्तानी दिएको छैन । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल रिबाट १३ करोड ६१ लाख रुपैयाँ र हिमालयन रिबाट ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

नेशनल इन्स्योरेन्स कम्पनीलाई हिमालयन रिले १ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ । हिमालनय एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रि बाट ३ करोड ३८ लाख रुपैयाँ र हिमालयन रिबाट ४९ लाख रुपैयाँ लिन बाँकी रहेको देखिन्छ । नेको इन्स्योरेन्स कम्पनीले हिमालयन रिबाट ३ करोड ८८ लाख रुपैयाँ र नेपाल रिबाट १३ करोड ९८ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ ।

रि–इन्स्योरेन्सले समयमै दाबी भुक्तानी नदिँदा बीमा कम्पनीहरूलाई बीमितको दाबी भुक्तानी गर्न कठिनाइ भएको संघको भनाइ छ । समयमै भुक्तानी नपाउँदा निर्जीवन बीमा कम्पनीहरूको तरलता व्यवस्थापनमा समस्या आउने र बीमितको दाबी भुक्तानी प्रक्रियामै ढिलाइ हुने जोखिम समेत संघले औंल्याएको छ ।

Share News