काठमाडौं । रणनीतिक साझेदार भित्र्याएर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न सकिने सुझाव दिइएको छ । प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेस गरेको प्रतिवेदन अनुसार नेप्सेको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न २५ प्रतिशतसम्म सेयर स्वामित्व (कम्तीमा १० वर्ष लक-इन अवधि सहित) रणनीतिक साझेदारलाई दिन प्रस्ताव गरेको हो ।
प्रतिवेदन अनुसार रणनीतिक साझेदार विश्वका शीर्ष २० स्टक एक्सचेञ्जमध्ये एक हुनुपर्ने, कम्तीमा २० वर्षको अनुभव तथा आधुनिक सूचना प्रविधि र नविनतम लगानी उपकरण प्रयोगको अनुभव भएको हुनुपर्नेछ । रणनीतिक साझेदारबाट नेप्सेको सञ्चालक समितिमा एक जना विज्ञ सञ्चालक अनिवार्य रूपमा रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
प्रतिवेदनले सरकारी स्वामित्व भएका संस्थामा देखिने संरचनागत कमजोरीहरू औंल्याउँदै नेप्सेमा रहेको सरकारी लगानीलाई कालान्तरमा आंशिक रूपमा विनिवेश गर्नुपर्ने सुझाव दिएको छ । तर सरकारको पूर्ण बहिर्गमनले साना लगानीकर्ताको विश्वास कमजोर हुन सक्ने भन्दै आंशिक स्वामित्व कायम राख्ने विकल्प सुरक्षित मानिएको छ ।
सरकारी सेयर रणनीतिक साझेदार, वित्तीय संस्था तथा सर्वसाधारणलाई बिक्री गर्न सकिने प्रस्ताव छ । वित्तीय संस्थाको हकमा भने कुनै एक संस्था वा सम्बन्धित समूहले नेप्सेको कुल सेयर पुँजीको ५ प्रतिशतभन्दा बढी स्वामित्व लिन नपाउने व्यवस्था गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनअनुसार धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले व्यवस्था गरेअनुसार दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । हालको अवस्थामा नेप्सेको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन बोनस सेयर जारी गर्नु उपयुक्त हुने सुझाव दिइएको छ । भविष्यमा थप लगानी आवश्यक परेमा हकप्रद सेयर वा नयाँ सेयर जारी गर्न सकिने विकल्प खुला राखिएको छ । तर पुँजी वृद्धि अघि रणनीतिक साझेदारसम्बन्धी स्पष्ट नीति तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
थापा नेतृत्वको समितिले नेप्सेको हालको स्वामित्व र सञ्चालन संरचनाबाट दीर्घकालीन अवसर र चुनौतीहरू सामना गर्न कठिन हुने ठहर गरेको छ । व्यवस्थापन, प्रविधि र सेवामा व्यापक सुधारका लागि सञ्चालक समिति र स्वामित्व संरचनामै परिवर्तन आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।