‘सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्ने’ एजेन्डासहित राजनीतिमा आएको हुँ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका सभापति रवि लामिछानेले केही दिनको अस्पताल बसाइपछि सार्वजनिक जीवनमा फर्कँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई नेपाली इतिहासको निर्णायक मोडका रूपमा चित्रित गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा जारी गरेको सार्वजनिक वक्तव्यमा वर्तमान दुई तिहाइ बहुमतको सरकारले आफूविरुद्ध जबरजस्ती विष हालेको आरोप लगाएका छन् ।

उनले उक्त विष पखाल्न देशभरका अदालतमा न्यायको खोजी जारी रहने उल्लेख गर्दै यो लडाइँ व्यक्तिगत नभई प्रणालीगत परिवर्तनका लागि भएको दाबी गरे ।

लामिछानेले आफू ‘सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्ने’ एजेन्डासहित राजनीतिमा आएको स्पष्ट पार्दै घण्टी चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आह्वानसमेत गरेका छन् । 

लामिछानेले एकाध पुल, भवन वा सडक निर्माणलाई मात्रै उपलब्धि ठान्ने प्रवृत्तिलाई उनले कस्मेटिक सुधारको संज्ञा दिँदै कुशासनको केन्द्र सिंहदरबारबाटै नीलो क्रान्ति सुरु गर्न स्पष्ट जनादेश आवश्यक रहेको पनि बताए ।

आगामी संसद नयाँ हुनुपर्नेमा जोड दिँदै उनले प्रतिपक्षसमेत परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । 

वक्तव्यमा उनले मत परिणाम स्वीकार्य हुने तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसदलाई षड्यन्त्रपूर्वक फर्काउने कुनै पनि प्रयास स्वीकार नहुने पनि उल्लेख गरेका छन् ।

रास्वपामाथि लाग्दै आएका लोकप्रियतावाद, नीति र दृष्टिकोणको अभावसम्बन्धी आरोपप्रति प्रतिक्रिया दिँदै लामिछानेले आलोचकहरूलाई पार्टीका लिखित नीति तथा दस्तावेज अध्ययन गर्न आग्रहसमेत गरेका छन् । 

Share News