काठमाडौं । छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गालमा निपाहको सङ्क्रमण फैलिएसँगै नेपालमा पनि त्रास सिर्जना भएको छ । कोरोनाभन्दा घातक मानिने निपाह सङ्क्रमण भारतमा फैलिएसँगै नेपालीहरू त्रसित बनेका हुन् । नेपालसँग खुला सीमानाका कारण पनि नेपालमा रोग सहजै प्रवेश गर्न सकिने सम्भावना भएकाले नागरिक त्रसित भएका हुन् ।
भारतमा संक्रमण देखिँदा नेपाल उच्च जोखिम भए पनि तत्काल डराइहाल्नुपर्ने अवस्था नरहेको सरकारले जनाएको छ । सरकारले आवश्यक सतर्कता अपनाइसकेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह फैलिएको हल्ला फैलिनेबित्तिकै हवाई र थल नाकामा सतकर्ता अपनाएको जनाएको छ । देशभरका सिमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट आउनेहरूमा सुरक्षा जाँच कडा बनाइएको बताएको छ ।
त्यसैगरी, सीमा नाकामा काउन्सिलिङको पाटो बढाइएको छ भने शंका लाग्ने व्यक्तिलाई निगरानीमा लिने काम भइरहेको जनाएको छ । मन्त्रालयले देशभरका सीमा नाकामा कोरोनाकालदेखि जारी रहेका हेल्थ डेस्कले काम गरिरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले नेपालमा संक्रमण सहजै प्रवेश गर्नसक्ने सम्भावना भएकाले सतर्कता अपनाउन सर्कुलर जारी गरिएको बताए । सरकारले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिमा रुघाखोकीसहित केही लक्षण देखिएमा पनि विशेष निगरानी राख्न निर्देशन दिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले अस्पताल तोकिसकेको छ ।
सुदूरपश्चिमको सीमा नाकामा के छ अवस्था ?
सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिकको रोजीरोटी भारतबाट चल्छ । नेपाली मात्र होइन, धेरैजसो भारतीयहरू पनि कामका लागि नेपाल आइरहेका हुन्छन् । खुला सीमाका कारण भारत–नेपाल आउजाउमा कुनैपनि रोकटोक छैन । पछिल्लो समय भारतमा फैलिएको निपाह सङ्क्रमणले भारतमा काम गर्न जानेहरू त्रासमा छन् भने भारतबाट फर्किएकाहरूबाट आफूहरू असुरक्षित हुने डरमा स्थानीयहरू छन् ।
स्वास्थ्य निर्देशनालय डोटीका सीमानाका फोकल पर्सन हेमराज जोशीले सुदूरपश्चिमका पाँचवटै नाकामा रहेका हेल्थ डेस्कले यो विषयका काम गरिरहेको बताए ।
‘हाम्रा हेल्थ डेस्क कोभिडमा सञ्चालन आएका हुन्, त्यसयता सीमानाकामा जहिले जाँच हुन्छ,’ उनी भन्छन्, ‘भारतबाट नेपाल आउने व्यक्तिसँग सोधपुछ गर्ने ज्वरो, रुघाखोकी भएको व्यक्ति भए छुट्टै काउन्सिलिङ गर्ने काम भइरहेको छ ।’
जोशीका अनुसार अहिलेसम्म कुनैपनि हेल्थ डेस्कमा शंकास्पद व्यक्ति फेला परेका छैनन् । ‘हाम्रा हेल्थ डेस्कमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित जाँच हुन्छ, हामीले फिजिकल र भर्चुअल रुपमा नागरिकलाई स्क्रिनिङ गर्ने काम गरिरहेका छौं । कुनै व्यक्ति बिरामी भएर आएको पाइएमा निगरानीसहित नजिकैको स्वास्थ्य संस्थामा पठाउँछौं, अहिलेसम्म त्यस्तो व्यक्ति हामीले फेला पारेका छैनौं,’उनले भने ।
जोशीका अनुसार सुदूरपश्चिम नाकामा आउने मानिस दिल्ली, मुम्बई, गुजरात लगायतका ठाँउबाट आउँछन्, अहिले ती ठाउँमा निपाहको संक्रमण देखिएको छैन । त्यसैले तत्काल जोखिमको सम्भावना धेरै छैन ।
उनी भन्छन्, ‘निपाह सङ्क्रमण देखिएको अहिले पश्चिम बङ्गालमा हो, त्यो क्षेत्रबाट आउने नेपाली पूर्वी नाकामा धेरै हुन्छन् । तर, यसो भन्दैमा सुदूरपश्चिम नाकामा जोखिम छैन भनेको होइन तर सम्भावना अहिले जति पूर्वीनाकाबट रहन्छ त्यो यहाँ देखिदैन ।’
उनले पाँचवटै सीमा नाकामा आफ्नो कुराकानी भइरहने गरेको बताउँदै अहिले तत्काल कुनै शंकास्पद व्यक्ति सीमाबाट नआएको जानकारी दिए ।
पूर्वी सीमानाकाको अवस्था ?
पूर्वका सीमानाकामा पनि कडाइका साथ जाँच गरिएको स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । सीमानाका फोकल पर्सन व्यक्ति रमेश बाह्रकोटीका अनुसार कोशी प्रदेशका तीनवटा नाकामा रहेका हेल्थ डेस्कमा चेकजाँच जारी छ । विराटनगरमा रहेको जोगवानी नाका, झापामा रहेको काँकडभिट्टा नाका र इलाममा रहेको पशुपति नगर सीमानाकामा भारतबाट आउने व्यक्तिमा निगरानी बढाइएको बाह्रकोटीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशमा सोमबार (हिजो) बसेको बैठकले पनि नाकामा थप कडाइ गर्न निर्देशन दिएकाले उच्च निगरानी बढाइएको उनको भनाइ छ ।
‘यी नाकाहरूबाट संक्रमित व्यक्ति प्रवेश गर्न सक्ने सम्भावना अन्य नाकाभन्दा बढी छ,’ बाह्रकोटी भन्छन्, ‘सीमामा रहेका हेल्थ डेस्कले भारतबाट आएका व्यक्तिमा सामान्य सोधपुछ गर्ने, रुघाखोकी लागेका, ज्वरो आएका व्यक्तिलाई बढी निगरानीमा राख्ने काम भइरहेको छ ।’
सीमा नाकामा रहेका हेल्थ डेस्कले योभन्दा अगाडि कोरोना, टीबी, मलेरिया लगायतका जाँच गरिरहेको थियो । बाह्रकोटीका अनुसार हेल्थ डेस्कमा ठूलो परीक्षण नहुने र बिरामीहरू पनि लक्षण लुकाएर आउने सम्भावना बढी रहेकाले यो निगरानीबाटमात्र सुरक्षित छौं भन्न नमिल्ने बताउँछन् ।
उनी भन्छन्, ‘यी नाकाभन्दा अन्य ठाउँबाट पनि नेपाल प्रवेश गर्न सकिने प्रशस्त बाटाहरू छन् । धेरै व्यक्ति सोधपुछको झन्झटले फरक बाटोबाट प्रवेश गरिरहेका हुनसक्छन्, कतिपय ज्वरोआएका र रुघाखोकी लागेका व्यक्तिले पनि लक्षण लुकाउने सम्भावना हुन्छ, हेल्थ डेस्कलाई मात्र सतकर्ताको आधार मान्दा जोखिम बढ्न सक्छ ।’
बाह्रकोटीका अनुसार सरकारले निर्देशिकामा भनेको जस्तो जाँच सीमामा सम्भव छैन । त्यहाँ हुने भनेको काउन्सेलिङ मात्र हो । निपाह संक्रमणको शंका लागेमा उपचारको लागि कोशी प्रदेशका तीनवटा अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकेको बाह्रकोटीले जानकारी दिए । जसमा मेची प्रादेशिक अस्पताल, कोशी अस्पताल र धरानको वीपी प्रतिष्ठान रहेका छन् ।
इपिडियोलोजीले जारी गर्यो निर्देशिका
भारतमा निपाह भाइरसको संक्रमण बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै इपिडियोलोजी तथा रोग नियन्त्रण डिभिजनले नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ । ज्वरोसँगै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, चेतनास्तरमा परिवर्तन भएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरिने निर्देशिका बताइएको छ ।
निर्देशिकामा संक्रमित जनावर, विशेषगरी फलफुल चमेरासँगको सम्पर्क, काँचो खजुरको रस सेवन वा बंगलादेश, पश्चिम बंगाल तथा भारतको केरलाजस्ता निपाह प्रभावित क्षेत्रको यात्रा हिस्ट्री भएमा विशेष सतर्कता अपनाउन भनिएको छ । यस्ता लक्षणसहित मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई ‘सम्भावित निपाह केस’ मानिने भनिएको छ ।
यस्तै, शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसनसहित अस्पताल भर्ना गरिने र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्ने र रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले विस्तृत केस अनुसन्धान गर्ने निर्देशिकामा भनिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण डिभिजनले निपाह संक्रमण आइहालेमा कसरी शीघ्र पहिचान गर्ने भन्ने पाटोमा काम गरिरहेको जनाएको छ । ‘सबैभन्दा पहिले त नेपालमै आउन नदिने कसरी भनेर हामीले काम गरिरहेका छौं,’इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजनको महामारी विज्ञान र प्रकोप व्यवस्थापन शाखाका डा. मुकेश पौडेल भन्छन्, ‘जुन हिसाबले नागरिक स्तरमा त्रास फैलिएको छ त्यस्तो अवस्था छैन । नेपालमा यस्ता बिरामीहरू छन् या छैनन् भन्ने निक्र्यौल पनि भइसकेको छैन । यद्यपि नागरिक आफै सचेत हुन भने आवश्यक छ।’
उनले सीमानाकामा शीघ्र पहिचानका लागि रिपोर्ट गर्ने स्क्रिनिङको काम भइरहेको जानकारी दिए । डा.पौडेल भीडभाडमा नजान, सरसफाइमा विशेष ध्यान दिन र चनाखो हुन सबैमा आग्रह गर्छन् ।
जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न मन्त्रालयको आग्रह
निपाह भाइरस संक्रमित फलाहारी चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफुल सेवन गर्दा संक्रमण हुन्छ । संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो संक्रमण सर्न सक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राखे, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न अनुरोध गरेको छ ।
कुनै पनि व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, वान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुने जस्ता शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्र्क राख्न आग्रह गर्दै मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन भनेको छ ।
साथै कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत फोन गर्न भनेको छ ।
के हो निपाह भाइरस ?
निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जुन जनावरबाट मानिसमा र रोग सार्न सक्छ । निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ ।
निपाह सन् १९९७ मा मलेसियामा देखा परेको थियो । सुँगुर फार्मबाट फैलिएको यो संक्रमणबाट २ सय ६५ जना संक्रमित हुँदा १ सय पाँच जनाको मृत्यु भएको थियो । यो संक्रमणबाट ठूलो क्षति बेहोरेको मलेसियाले एक वर्षपछिमात्र निपाह संक्रमण भएको थाहा पाएको थियो ।
बंगलादेशमा उत्पत्ति भएको यो संक्रमण भारतको पश्चिम बङ्गालमा देखिएपछि फेरि स्वास्थ्य क्षेत्र तरंगित भएको छ । मलेसियामा भने यो संक्रमण देखिएको छैन । भारतमा संक्रमण पुष्टि हुँदा नेपालमा जोखिम बढेको हो ।
भारत र नेपालको खुला सीमा र आवतजावतले पनि नेपाल निपाह संक्रमणको उच्च जोखिम अवस्थामा रहेको उनीहरू बताउँछन् ।