काठमाडौं । निर्वाचन आयोगले तोकेको भन्दा बढी सवारीसाधन उम्मेदवारले प्रयोग गरे २५ हजार जरिवाना गराउने भएको छ ।
निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न नपाउने भएका हुन् ।
आयोगले जारी गरेको निर्देशन पालना नगरेमा निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना भराउने भएको छ । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही हुने जनाएको छ ।
निर्वाचन प्रचारप्रसारमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधनसमेत गर्न नपाइने आयोगले उल्लेख गरेको छ ।
यसैगरी, प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरेर र्याली गर्न नपाइने आयोगले प्रस्ट पारेको छ । सवारीसाधन प्रचारप्रसारमा प्रयोग गरेमा सवारीसाधन निर्वाचन अवधिभर कब्जामा लिएर र जरिवानासमेत गराइने आयोगले जानकारी दिएको छ ।
सरकारी सवारीसाधन प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारबाहीसमेत आयोगले बताएको छ ।