काठमाडौं । निर्वाचन आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन् ।
यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको हो ।
देशभर १६५ निर्वाचन क्षेत्र छन् जसमध्ये बागमती प्रदेशको रामेछाप जिल्लामा सबैभन्दा धेरै १ लाख ८७ हजार ९५२ मतदाता छन् । त्यसपछि लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ मतदाता छन् ।
रामेछाप र अर्घाखाँची दुबै एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।
आयोगका अनुसार सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । यहाँ ७ हजार मतदाता रहेको आयोगले जनाएको छ ।