दिपल इभीको ब्याट्रीमा ११ वर्षको वारेन्टी घोषणा

काठमाडौं । नेपालको लक्जरी इलेक्ट्रिक भेहिकल (इभी) ब्रान्ड दिपलले इभी स्वामित्वलाई अझै सुरक्षित र चिन्तारहित बनाउने ऐतिहासिक घोषणा गरेको छ । दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल इभीको ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको हो । जुन हालसम्मकै नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो । 

यसअघि दिपलका इभीमा निर्माता कम्पनी चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध गराउँदै आएको थियो । 

अब भने एमएडब्लू वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटर वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ । यसले नेपाली इभी प्रयोगकर्तालाई दीर्घकालीन सुरक्षासँगै पूर्ण ‘पिस अफ माइन्ड’ प्रदान गर्ने विश्वास लिइएको छ । 

दिपलका इभीहरूमा विश्वकै सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री तथा चीनको अग्रणी अटो निर्माता चांगान का अत्याधुनिक इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यी प्रविधिमा आधारित भएर कम्पनीले वारेन्टी अवधि उल्लेखनीय रूपमा विस्तार गरेको जनाएको छ । 

‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत दिपलका ग्राहकले हाई–भोल्टेज ब्याट्री पाट्र्स, सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट, म्यानुफ्याक्चरिङ डिफेक्ट लगायतका महत्वपूर्ण हाई–भोल्टेज इभी कम्पोनेन्टहरूमा वारेन्टी पाउनेछन् । साथै, ट्रयाक्सन मोटर एसेम्ब्ली, मोटर कन्ट्रोल युनिट सहित सम्पूर्ण इलेक्ट्रिक मोटर सिस्टमका प्रमुख भागहरू पनि वारेन्टीको दायराभित्र पर्नेछन् । 

एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले यो घोषणा केवल वारेन्टी विस्तार नभई विश्वासको अभिव्यक्ति भएको बताए । 

उनले भने, ‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको स्पष्ट संकेत पनि हो । सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो पूर्ण विश्वासका आधारमा नेपाली ग्राहकको दीर्घकालीन पिस अफ माइन्ड सुनिश्चित गर्न यो निर्णय गरेका हौं । ’

यस घोषणासँगै एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपालका इभी ग्राहकहरूप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । साथै, इभी स्वामित्वलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउँदै नेपालमा इभी प्रयोगप्रति विश्वास थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । 

Share News