काठमाडौं । के तपाईंको मतदाता परिचयपत्र हरायो वा कुनै कारणवस नास भयो भने निर्वाचनमा मतदान गर्न पाइँदैन कि भनेर चिन्तामा हुनुहुन्छ भने अब त्यो चिन्ता नलिनूहोस् । मतदाता नामावलीमा नाम छ भने तपाईंले अरू ६ प्रकारका कागजात देखाएर पनि मतदान गर्न पाउनुहुन्छ ।
आयोगका सहप्रवक्ता प्रकाश न्यौपाने मतदाता परिचयपत्र नभए पनि निश्चित सरकारी कागजातका आधारमा मतदान गर्न सकिने बताउँछन् ।
उनका अनुसार मतदान गर्नका लागि सम्बन्धित बुथको मतदाता नामावलीमा मतदाताको नाम हुनु अनिवार्य हुन्छ।
मतदाता नामावलीमा नाम भएको मतदाताको कुनै कारणवस मतदाता परिचयपत्र भएन वा हरायो भने नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा भए मतदान गर्न सकिन्छ न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘मतदाता परिचयपत्र भएन भनेर आत्तिनु पर्दैन । मतदाता नामावलीमा नाम छ भने यी छ प्रकारका कागजातमध्ये कुनै एकको सक्कल लिएर मतदान केन्द्र पुगेमा मत हाल्न पाइन्छ ।’
आयोगका सहप्रवक्ता न्यौपानेले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि आयोगले मतदातालाई आवश्यक कागजातसहित मतदान प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरेका छन् ।