दलको घोषणापत्रमा सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीहरूको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला ।

काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणापत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सो आग्रह गरेका हुन् । 

उनले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई पनि अपिल गरेको छ । वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरूले जोड नदिए आसन्न निर्वाचनमा उनीहरूलाई हानी हुने चेतावनीसमेत दिएका छन् । 

उनले भने, ‘सबै राजनीतिक दलहरूले यस पटक सार्वजनिक यातायात क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखियोस् भन्ने म अनुरोध गर्न चाहन्छु । र यातायात क्षेत्रमा रहेका देशभरका सबै साथीहरूले पनि चुनावी घोषणा पत्रमा यातायात क्षेत्रको कुरा कसरी प्राथमिकताका आधारमा राख्नु भएको छ भन्ने प्रश्न सबै उम्मेदवारहरूलाई गर्न पनि म अनुरोध गर्न चाहन्छु ।’

‘यस पटक जुन राजनीतिक दलहरूले यातायात क्षेत्रलाई प्राथमिकतामा राख्छन् । त्यो प्राथमिकताको आधारमा हामीले पनि सोचेर जुन राजनीतिक पार्टीले कार्यान्वयन हुने गरी यस क्षेत्रका लागि राम्रो घोषणा पत्र ल्याउँछ, उसलाई निर्वाचनमा हामी सहयोग पनि गर्नेछौं,’ सिटौलाले थपे ।

महासंघले यातायातका साधनहरूको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिवद्धता जनाउन पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् ।

Share News