काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । माघ ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने समय फागुन ८ गतेसम्म लम्बिएको हो ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो ।
स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।