६ महिनामा सरकारको खर्च ६ खर्ब ९० अर्ब नाघ्यो, राजस्व ५ खर्ब ७७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ र गैरकर राजस्व ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ ।

सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि देखिएको छ । २०८२ पुस मसान्तसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ, जसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्र रहेको थियो । 

यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ३९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व ६९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने प्रदेश सरकारहरूले आन्तरिक स्रोत तथा अन्य माध्यमबाट २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व परिचालन गरेका छन् । सरकारको खर्च र राजस्व परिचालनको यो अवस्थाले चालु खर्च उच्च रहँदा पुँजीगत खर्च अझै कमजोर रहेको संकेत गर्छ । 

Share News