साढे ३२ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, २१.४ महिनाको आयात धान्ने

काठमाडौं । कुल विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो । २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस अवधिमा २१.१ मुद्रा सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ । 

पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकहरुमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा राष्ट्र बैंकमा १९.४ प्रतिशत र बैंकमा ३६.२ प्रतिशत मुद्रा सञ्चिति बढेको जनाएको छ ।

२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८२/८३ को ६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Share News