ग्यास अभावबारे निगम भन्छ– मिडिया हाइपले यस्तो अवस्था आयो, २ हजार मेट्रिक टन कोटा थप्दैछौं

डिपोमा ग्यास नपाएपछि खाली सिलिण्डर बोकेर नेपाल ग्यासको कार्यालय पुग्दै सर्वसाधारण ।

काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव भएको चर्चा चलिरहँदा नेपाल आयल निगमले भने यो अभाव वास्तविक नभई कृत्रिम र ‘मिडिया हाइप’ का कारण सिर्जना भएको बताएको छ ।

मिडियामा ग्यासको अभाव हुने समाचार आएपछि उपभोक्ताहरू त्रसित भई आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय (होल्ड) गर्न थालेकाले बजारमा चाप परेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

‘हुनेखानेले धेरै सिलिन्डर भरेर राख्दा एउटा मात्र सिलिन्डर हुने सर्वसाधारण मर्कामा परेका छन्,’ उनले विकासन्युजसँग भने ।

उनले अनावश्यक होल्डिङ नगर्न र बजारमा ग्यासको पर्याप्त मौज्दात रहेको भन्दै उपभोक्तालाई नआत्तिन समेत आग्रह गरे । 

ग्यास आपूर्तिलाई सहज बनाउन अर्को महिनाका लागि थप २ हजार मेट्रिक टन कोटा बढाएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

सामान्यतया मासिक ४९ हजारदेखि ४९ सय ५०० मेट्रिक टनसम्म ग्यासको कोटा निर्धारण गरिने भए तापनि वास्तविक खपत त्योभन्दा कम हुने गरेको छ । हालको मागलाई सम्बोधन गर्न आधारभूत ४९ हजार ५०० मेट्रिक टनमा २ हजार मेट्रिक टन थप गरी कुल ५१ हजार ५०० मेट्रिक टन थप ल्याउने निर्णय गरेको उनले बताए ।

इन्डियन आयल कर्पोरेसनबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो । 

अहिले उद्योगले ल्याएको ग्यासको परिणाम जाडोयामको माग धान्न पुग्ने उनको भनाइ छ । यो परिमाण बजारको आवश्यकता भन्दा बढी भएको प्रवक्ता ठाकुरको भनाइ छ । 

निगमका अनुसार ग्यासको अभाव देशभर नभई मुख्यतया काठमाडौंमा र केही निश्चित ब्रान्डहरूमा मात्र देखिएको छ । नेपाल ग्यास, ओम ग्यास र साईबाबाजस्ता बढी उपभोक्ता भएका ब्रान्डहरूको बजार रोटेशनमा केही समय ढिलाइ हुँदा समस्या देखिएको हो ।

काठमाडौं बाहिरका जिल्लाहरूमा भने आपूर्ति पूर्ण रूपमा सहज रहेको छ ।

Share News