महालक्ष्मी विकास बैंकले ग‍र्यो स्वास्थ्यदेखि सीप विकाससम्मका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास तथा मानव सेवाजस्ता विविध क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अनुरूप सञ्चालन गरिएका यी कार्यक्रमहरू समाजको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले सम्पन्न गरिएको बैंकले जनाएको छ ।

सोही क्रममा महालक्ष्मी विकास बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर २१ स्थित श्री गन्धकुटी विहार, खोकनामा बृहत् स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर र कोलोन क्यान्सरको पहिचान, मधुमेह तथा थाइराइड परीक्षण, सामान्य स्वास्थ्य जाँच र दन्त परीक्षण सेवा प्रदान गरिएको थियो ।

त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा अव्यवस्थित पार्किङ समस्याको समाधानका लागि ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरण केन्द्र नेपालसँगको सहकार्यमा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका स्थानीय बासिन्दालाई सिलाई मेसिन वितरण गरिएको छ । परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरण गर्दै आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यसैगरी, रुपन्देहीको सिदार्थनगर नगरपालिका–०९ स्थित श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । खेलमैदानमा माटो भर्ने, रोलिङ गर्ने तथा पानी निकासका लागि आवश्यक निर्माण कार्यमा बैंकले सहयोग गरेको हो ।

बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाउँदै लैजाने र यसबाट समाजको दिगो आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

Share News