काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय तर प्रत्यक्ष जनमतबाट प्रतिनिधिसभा छिर्न नसकेको एउटा नाम हो–नारायणकाजी श्रेष्ठ । चार दशकभन्दा लामो राजनीतिक यात्रामा भूमिगत राजनीति, पार्टी नेतृत्व, मन्त्री पद र राष्ट्रियसभा सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको उचाइ चुमेका श्रेष्ठको एउटा चाहना छ–प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभा पुग्ने ।
यही अधुरो चाहनालाई पूरा गर्ने प्रयासका रूपमा उनले रोजेका छन् सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ । पार्टीभित्र सुरक्षित मानिएको क्षेत्र र मधेसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रभाव भएका कारणले श्रेष्ठको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको छ । तर, यो यात्रा सहज भने छैन । यसको एउटै कारण हुन् उनका सामु उभिएका नेकपा एमालेका सशक्त उम्मेदवार तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती ।
श्रेष्ठको चुनावी इतिहास हेर्दा राजनीतिक उचाइ र चुनावी परिणामबीच गहिरो विरोधाभास देखिन्छ । २०६४ मा पहिलो संविधानसभामा मनोनयन प्रक्रियाबाट संसद पुगेका उनी त्यसपछि मन्त्री बने, प्रभावशाली नेता बने तर जनमतको कसीमा भने बारम्बार असफल भए ।
श्रेष्ठ २०७० को आम चुनावमा मकवानपुर–३ मा नेकपा एमालेका उम्मेदवार सुवाषचन्द्र ठकुरीसँग पराजित भएका थिए । एमाले माओवादी गठबन्धनका बाबजुद पनि माओवादी गढ मानिएको आफ्नै गृहजिल्ला गोरखा–२ बाट २०७४ मा पनि श्रेष्ठ पराजित हुन पुगे । हरेक राजनीतिक कार्यकर्ता जनमतबाट अनुमोदित हुन चाहन्छ । यो चाहनाले नै श्रेष्ठलाई कहिले मकवानपुर पुर्यायो त कहिले गोरखा । यसपटक उनी सर्लाही पुगेका छन् । तर स्थानीय गुरु भट्टराई भने श्रेष्ठलाई पर्यटक उम्मेदवार मान्छन् । उनी भन्छन्, ‘श्रेष्ठले हारेपनि भाग्छन् जिते पनि फर्किँदैनन् ।’
२०७६ मा राष्ट्रियसभा सदस्य बनेपछि श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृह, ऊर्जा, सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हाले । तर, यी सबै उपलब्धिमाथि एउटा प्रश्न सधैं झुण्डिरह्यो–जनताले प्रत्यक्ष रूपमा किन जिताएनन् ? श्रेष्ठ त्यही प्रश्नको उत्तर खोज्दै अहिले सर्लाही–३ मा पुगेका हुन् ।
नेकपाका लागि लागि सर्लाही नयाँ जिल्ला होइन । मधेसका अन्य जिल्लाभन्दा सर्लाही–३ लाई पार्टीभित्र सम्भावनायुक्त क्षेत्र मानिन्छ । त्यसैले श्रेष्ठले सर्लाही रोजेको चर्चा राजनीतिक वृत्तमा छ । तर यही क्षेत्र २०७९ मा पाँच दलीय गठबन्धनका वावजुद पनि एमालेका हरिप्रसाद उप्रेतीले जितेको यथार्थ पनि छ । त्यसैले श्रेष्ठको आगमनमा सर्लाही–३ सुरक्षितभन्दा बढी रणनीतिक जुवाखेल जस्तो देखिन्छ ।
श्रेष्ठको बाटोमा सबैभन्दा ठूलो पहाड बनेर उभिएका छन् एमालेका उप्रेती । २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतको अन्तरले पराजित गरेका उप्रेती यस क्षेत्रमै सक्रिय, संगठनमा पकड भएका र स्थानीय मतदातासँग प्रत्यक्ष सम्बन्ध बनाएका नेता हुन् ।
उप्रेतीको पक्षमा रहेका मुख्य आधारहरूमा निवर्तमान सांसदको हैसियत र एमालेको संगठित भोट बैंक रहेको स्थानीय नारायणप्रसाद गौतम बताउँछन् । उनका अनुसार स्थानीय विकास र पहुँचको दाबी सँगै स्थानीय हुनुको फाइदा उप्रेतीलाई रहेको छ ।
रास्वपालगायत अन्य दलहरू
यो निर्वाचन क्षेत्रमा उप्रेती र श्रेष्ठबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार र नेपाली कांग्रेसका विनोदप्रसाद खनाल मैदानमा उत्रिएका छन् । श्रेष्ठ, उप्रेती, कलवार र खनालसहित ३७ जना यहाँ उम्मेदवार रहेका छन् ।
ढोलराम बारकोटी राप्रपा, जयप्रकाश राय जनता समाजवादी पार्टी, नेपाल, सुनिलप्रसाद गुप्ता जनमत पार्टी, सबिउल शेष प्रगतिशील लोकतान्त्रिक पार्टी, वीर बहादुर रुम्बा मंगोल नेशनल अर्गनाइजेसन, पवन कुमार महतो नेपाल कम्युनिस्ट पार्टी माओवादी, त्रिभुवन कुमार सिंह उज्यालो नेपाल पार्टी, राम बहादुर महतो कोइरी प्रजातान्त्रिक पार्टी नेपाल, शिवदयाल महरा बहुजन एकता पार्टी नेपाल, महेश राज दाहाल राष्ट्रिय मुक्ति पार्टी नेपाल उम्मेदवार रहेका छन् ।
त्यसैगरी, सन्दिप थापा, उमेश कुमार राय, रामपृत महरा, कृष्ण नन्दन राय, चन्दन राजवंशी, युवराज पाख्रिन, अनिल कुमार यादव, मुकेश कुमार राय, कृष्ण कुमार शाह, प्रमोद कुमार साह, कुमारी अधिकारी, लोक बहादुर दर्लामी, डम्वर बहादुर खड्का, युवराज लुईंटेल र राम चन्द्र चमार स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहेका छन् ।
२०७९ को मत हेर्दा
गत निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्रमा नेकपा एमाले र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको थियो । प्रत्यक्षमा एमालेका उम्मेदवार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका नरेन्द्र कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । उप्रेतीले कलवारलाई ७७० मतको झिनो अन्तरले पराजित गरेका थिए ।
समानुपातिक तर्फपनि एमाले र तत्कालीन माओवादी केन्द्रको मतान्तर सानो रहेको छ । समानुपातिक तर्फ माओवादी केन्द्रले १५ हजार ४७१ मत प्राप्त गर्दा एमालेले १५ हजार ५ मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ जसपाले १२ हजार ७९ लोकप्रिय मत ल्याएर तेस्रो हुँदा नेपाली कांग्रेसले ९ हजार ९७९ मत ल्याएर चौथो लोकप्रिय पार्टी बनेको थियो । रास्वपाले ६ हजार ९६२ लोकप्रिय मत ल्याएर छैटौं स्थान प्राप्त गरेको थियो ।
सर्लाही–३ उत्तरी भूभागमा फैलिएको मिश्रित क्षेत्र हो । यस निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कबिलासी र बसबरीयाका ५१ ओटा वडा समेटिएका छन् । यो क्षेत्रमा पहाडी मूलका मतदाताको बाहुल्यता छ ।
स्थानीय मतदाता समेत रहेका गौतमका अनुसार पहाडी मतदातामा पुगेर मत बदल गर्न सक्ने अवस्था श्रेष्ठको छैन।
उनी भन्छन्, ‘पहाडी मत सुरक्षित राखेर मधेसी समुदायमा आफ्नो रवाफ देखाउन सक्ने उम्मेदवारले जित निकाल्न सक्छ ।’
गौतमका अनुसार श्रेष्ठ राष्ट्रिय स्तरको नेता भएपनि यहाँका मतदाताहरूका लागि भने आफ्नो नेता होइन भन्ने भाव रहेको छ ।
श्रेष्ठले जित्नका लागि रास्वपाको प्रभाव न्यूनीकरण गर्नुपर्ने र आफूलाई केन्द्रको होइन, सर्लाहीकै उम्मेदवारका रूपमा स्थापित गर्नुपर्ने गौतमको सुझाव छ ।