काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा नेपाली बजारमा आफ्नो पहिचान बनाइसकेको करेन्ट नुडल्स उत्पादक कम्पनी यसोदा फुड्स प्रालिले रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । करेन्ट मार्ट भैरहवामा रहेको पहिलो आउटलेटको उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै विस्तार गरिएको कम्पनीले जनाएको छ ।
नयाँ शाखाको उद्घाटन यसोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर नतसी योगराज पाण्डेले गरेका थिए । कार्यक्रममा निर्देशक घिमिरेले करेन्ट मार्टको अबको भविष्य र योजनाबारे जानकारी गराएका थिए ।

यस्तै, कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पासैनी, विमला खाती र सपना भुसाल लगायतको उपस्थिति रहेको थियो । यसका साथै ग्राहकहरूको समेत उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।
नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । जसमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सका साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया उपलब्ध छन् ।
त्यसैगरी जिरा पाउडर, धनियाँ पाउडर र रातो खुर्सानी पाउडर जस्ता मसला सामग्रीहरू पनि मार्टमा पाइने कम्पनीले जनाएको छ ।
‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टप्रति देखाएको विश्वास र माया नै हामीलाई राजधानीसम्म सेवा विस्तार गर्न प्रेरणा बनेको हो । अब काठमाडौंका उपभोक्ताले पनि कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ’, यसोदा फुड्सका अध्यक्ष चन्न प्रसाद पौडेलले भने ।

यसअघि कम्पनीले अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको थियो । नयाँ करेन्ट मार्टले भने यसोदा फुड्सका सबै प्याकेज्ड फुड उत्पादनहरू एकै स्थानबाट खरिद गर्ने सुविधालाई अझ सहज बनाउने विश्वास लिइएको छ ।
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनतामा निरन्तर ध्यान दिँदै आएको कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।
‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने विभिन्न पिरो र स्वादिष्ट चाउचाउहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालसहित विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ ।