काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा आउने भएको छ । सुपारमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पाणु पौडेलका अनुसार यही माघ २८ गतेबाट उक्त स्टोर सञ्चालनमा आउन लागेको हो ।
सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार (आज) बिहान आगलागीबाट क्षति भएको सुपरमार्केटको सञ्चालनका लागि पूजाआजा गरेका छन् । त्यसअघि पनि राजावादी आन्दोलनमा उक्त स्टोरमा लुटपाट र तोडफोड हुँदा क्षति पुगेको थियो । स्टोर तोडफोड भएको भोलिपल्ट नै उक्त सञ्चालनमा आएको थियो ।
कोटेश्वरको भाटभटेनीसँगै २ हप्तापछि महाराजगञ्जको स्टोर पनि सञ्चालनमा आउने तयारी भइरहेको सीओओ पौडेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनको क्रममा क्षति पुगेका अन्य स्टोरहरू पनि पुनःनिर्माण सम्पन्न भई आउने क्रममा छन् । सुपारमार्केटले आन्दोलनको तीन महिनापछि बालुवाटारस्थित मुख्य गोदाम सञ्चालनमा ल्याएको थियो ।
भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पु¥याएका थिए । आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको देखिएको थियो । २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलाइएको र बाँकी ९ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए । उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दशैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटकपटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए।
भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको छ । ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ ।