काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।
सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए ।
दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए ।
पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए ।
४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए । २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए ।
पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् ।
४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ ।
सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् ।
यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् ।
यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् ।
एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए ।
जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए । पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् ।
पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ ।
गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् ।
हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का
नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’
धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने ।
कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ ।
यसपटकको जित एमालेकै हो
एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे ।
अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए ।
‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’
कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ ।
‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के विकास त्यसको समीक्षा भइरहेको छ ।’
स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे ।
अन्य को–को छन् उम्मेदवार ?
महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल, कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी, भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् ।
सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् ।
उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा, बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४, इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।