काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक उच्च व्यवस्थापकले अन्तर्राष्ट्रिय लेखापरीक्षण कम्पनी बङ्गलादेशस्थित हाउल्याडर युनुस एन्ड कम्पनीलाई उद्धृत गर्दै भने, ‘तपाईंहरूको प्रतिवेदन अन्य बैंकको तुलनामा राम्रो आएको छ । पुस मसान्तसम्म हाम्रो खराब कर्जा साढे ४ प्रतिशतको हाराहारीमा छ । हाउल्याडर युनुस एन्ड कम्पनीको रिपोर्टमा पनि बढीमा ५.५ देखि ६ प्रतिशतसम्म मात्र देखिन सक्छ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्झौता अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण सम्पन्न गरिसकेको छ, जसमा राष्ट्रिय वाणिज्य बैंक पनि समावेश छ । यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) ४.३६ प्रतिशत विन्दुमा सीमित रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.०९ प्रतिशत कम हो । गत वर्षको पुस मसान्तमा बैंकको एनपीएल ४.९६ प्रतिशत विन्दु रहेको थियो ।
बैंकका ती अधिकारीका अनुसार पछिल्लो समय आर्थिक गतिविधिमा आएको शिथिलता तथा जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावले ऋण असुलीमा दबाब सिर्जना गरेको छ । यद्यपि, उनले आगामी दिनमा ऋण असुली क्रमशः सहज हुँदै जाने विश्वास व्यक्त गरे ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.०७ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा यो अनुपात ४.४८ प्रतिशत विन्दु थियो । यस आधारमा बैंकिङ प्रणालीको एनपीएल वार्षिक रूपमा १३.२६ प्रतिशतले बढेको देखिन्छ । निजी क्षेत्रको लगानी सुस्त हुनु, उपभोग घट्नु तथा निर्माण र घरजग्गा क्षेत्र पूर्ण रुपमा सञ्चालनमा नआउँदा खराब कर्जा बढेको बैंकरहरु बताउँछन् ।
समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा एनआईसी एशिया बैंकको रहेको छ । बैंकको एनपीएल ६२.०३ प्रतिशतले बढेर ७.४७ प्रतिशत विन्दु पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ४.६१ प्रतिशत विन्दु थियो ।
यस्तै, हिमालयन बैंकको खराब कर्जा ५९.८३ प्रतिशतले बढेर ७.९६ प्रतिशत विन्दु पुगेको छ । गत वर्षको पुसमा बैंकको एनपीएल ४.९८ प्रतिशत विन्दु थियो । प्रभु बैंकको एनपीएल ५६.९१ प्रतिशतले बढेर ७.९४ प्रतिशत विन्दु पुगेको छ भने सिटिजन्स बैंकको ४१.४४ प्रतिशतले बढेर ६.८६ प्रतिशत विन्दु पुगेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ३४.८१ प्रतिशतले बढेर ७.९० प्रतिशत विन्दु, प्राइम बैंकको २८.६२ प्रतिशतले बढेर ६.३८ प्रतिशत विन्दु तथा एनएमबि बैंकको १५.१५ प्रतिशतले बढेर ४.५६ प्रतिशत विन्दु पुगेको छ ।
यसैगरी, सानिमा बैंकको एनपीएल १२.७३ प्रतिशतले बढेर ३.६३ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.९४ प्रतिशतले बढेर १.८८ प्रतिशत विन्दु, नेपाल बैंकको ७.०१ प्रतिशतले बढेर ५.३४ प्रतिशत विन्दु, एभरेस्ट बैंकको ३.०३ प्रतिशतले बढेर ०.६८ प्रतिशत विन्दु तथा ग्लोबल आईएमई बैंकको १.०२ प्रतिशतले बढेर ४.९१ प्रतिशत विन्दु पुगेको छ ।
तर, चालु आवको दोस्रो त्रैमासमा ८ वटा बैंकले खराब कर्जा घटाउन सफल भएका छन् । समीक्षा अवधिमा सबैभन्दा बढी सुधार नेपाल एसबीआई बैंकले गरेको देखिन्छ । बैंकको एनपीएल २५.६३ प्रतिशतले घटेर २.६४ प्रतिशत विन्दुमा झरेको छ । गत वर्षको पुसमा बैंकको एनपीएल ३.५५ प्रतिशत विन्दु थियो ।
यस्तै, सिद्धार्थ बैंकको खराब कर्जा २३.३३ प्रतिशतले घटेर ३.४५ प्रतिशत विन्दु, नबिल बैंकको १३.७९ प्रतिशतले घटेर ४.२५ प्रतिशत विन्दु, कृषि विकास बैंकको ५.१० प्रतिशतले घटेर ४.६५ प्रतिशत विन्दु तथा माछापुच्छ«े बैंकको ४.४९ प्रतिशतले घटेर ४.२५ प्रतिशत विन्दुमा सीमित भएको छ ।
लक्ष्मी सनराइज बैंकको एनपीएल २.९९ प्रतिशतले घटेर ५.५० प्रतिशत विन्दु तथा कुमारी बैंकको ०.५७ प्रतिशतले घटेर ६.९२ प्रतिशत विन्दुमा झरेको छ ।
