३ दिनमै ५२ हजार ७०० ले घट्यो सुनको मूल्य

काठमाडौं । ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य पुनः ओरालो लाग्न थालेको छ । पछिल्ला ३ दिनमा सुनको मूल्य प्रतितोला ५२ हजार ७ सय रुपैयाँले ओरालो लागेको छ । 

माघ १५ गते सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भई ऐतिहासिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले उकालो लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा चाँदी २ हजार ३०५ रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो ।

आज बजारमा छापावाल सुन २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँच हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा आज चाँदी ३ सय रुपैयाँले घटेको छ । आइतबार चाँदी १५ सय ६५ रुपैयाँले घटेर ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबार छापावाल ३ लाख १८ हजार ८ सय रुपैयाँ चाँदी सात हजार ५ सय कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९०० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष दियसरत्न शाक्यले सुनको मूल्यमा यति धेरै उतारचढाव हुनुको कारण विश्वव्यापी परिदृश्य  र अनलाइनमार्फत गरिने गोल्ड तथा सिल्भर ईटीएफ ट्रेडिङ रहेको बताए ।

उनका अनुसार लगानीकर्ताहरूले नाफा बुक गर्नका लागि धेरै मात्रामा सुन बिक्री गरेका छन् । यसरी सेलिङ प्रेसर र बाइब्याक सेलका कारण बजारमा सुनको मूल्यमा उतारचढाव हुने गरेको उनको  भनाइ छ । 

उपाध्यक्ष शाक्यले एकदिन ह्वात्तै बढ्नु र अर्कोदिन त्यही रकमले बढ्दा बजार बढी प्रभावित हुने गरेको बताए । 

‘हिजो १८ हजार ५ सय रुपैयाँले बढ्ने र आज त्यही रकमले घट्दा बजारमा ठूलो प्रभाव पर्छ,’ शाक्यले भने, ‘यसरी सुनमा उतारचढाव हुँदा ग्राहकले पत्याउनै गाह्रो मानिरहेका छन् ।’ 

उनका अनुसार ग्राहक र व्यापारी दुवै ‘पर्ख र हेर’ को स्थितिमा रहेको उनले बताए । 

सुनको मूल्य ह्वात्तै घटबढ हुँदा कारोबार, विशेषगरी किन्न वा बेच्न धेरै गाह्रो हुने गरेको सुन व्यवसायीहरू बताउँछन्।

उपाध्यक्ष शाक्यका अनुसार यस्तो समयमा पसल र ग्राहकबीच आपसी सहमति र वार्ता गरेर काम गर्नुपर्ने हुन्छ। 

सुनको मूल्य अझै ओरालो लाग्छ कि फेरि उकालो भन्ने चासो धेरैको छ । सुनचाँदी व्यवसायीहरूले भने अब करिब एक साता अझै सुनको मूल्य ओरालो लाग्ने र त्यसपछि बजार केही स्थिर हुने अपेक्षा गरेका छन् ।

Share News