३ कम्पनीले माछापुच्छ्रे बैंक छोड्दै, बिक्रीमा राखे ३१ लाख कित्ता सेयर

काठमाडौं । माछापुच्छ्रे बैंकका तीन ठूला संस्थापक सेयरधनी बैंकबाट बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको ३१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै उनीहरू बैंकको सेयर स्वामित्वबाट बाहिरिन लागेका हुन् । 

बैंकका अनुसार के.एम.सी. अटोमोबाइल्स प्रालिले १३ लाख ५८ हजार १०३ कित्ता, एसोसिएटेड अटोमोबाइल्स प्रालिले ९ लाख ९७ हजार ८३१ कित्ता र हिमालयन इन्टरप्राइजेज प्रालिले ७ लाख ४१ हजार ४४६ कित्ता गरी कुल ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकका अनुसार उक्त संस्थापक सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।

के.एम.सी. अटोमोबाइल्स, एसोसिएटेड अटोमोबाइल्स र हिमालयन इन्टरप्राइजेजको अध्यक्ष अरुण कुमार चौधरी हुन भने सञ्चालक शिला चौधरी । 

के.एम.सी.र एसोसिएटेड अटोमोबाइल्स गाडीका पाटपूर्जा आयात गर्ने उद्देश्यले संचालनमा आएका हुन् भने हिमालयन इन्टरप्राइजेज सबै प्रकारका मालसामान, खरिद–बिक्री आयात, निर्यात गर्ने उद्देश्यले सञ्चालनमा आएको हो । 

Share News