काठमाडौं । खेलकुदमार्फत विद्यार्थीमा अनुशासनको विकास गर्दै प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डिएभी अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १६ गते डिएभी कलेज परिसरमा रहेको आफ्नै फुटसल मैदानमा सुरु भएको प्रतियोगितामा ४० वटा कलेजहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभी (नेब) कलेजका प्रिन्सिपल एवं हिसान केन्द्रीय सदस्य सुमन बस्नेतले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता +२ तहको सबैभन्दा ठूलो पुरस्कार राशिको फुटसल प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे । प्रतियोगितामा समृद्धि स्कुल विजेता बन्दै ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने हेराल्ड कलेज उपविजेता बन्दै २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीको उपाधि समृद्धि स्कुलका कप्तान बोगटीले जितेका छन् । उत्कृष्ट गोलरक्षकको उपाधि हेराल्ड कलेजका निराजन मगरले प्राप्त गरे भने सर्वाधिक गोलकर्ताको उपाधि एआइटीएम कलेजका सुशन बलामीले जितेका छन् । उत्कृष्ट खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ नगद, व्यक्तिगत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, डिएभी कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।