आइकम नेपालमा रमेश दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) अन्तर्गत नेपालमा कार्यरत राष्ट्रिय समिति आइकम नेपालको नवौँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । माघ १६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले रमेश प्रसाद दवाडीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित कार्यसमितिको सचिवमा ओमप्रकाश घिमिरे र कोषाध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन् । समितिका अन्य सदस्यहरूमा डा. पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोष कुमार सुवेदी र ख्याम प्रसाद शिवाकोटी रहेका छन् ।

नवनिर्वाचित सचिव ओमप्रकाश घिमिरेका अनुसार नयाँ कार्यसमितिले आगामी दिनमा नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । विशेषगरी स्थानीय तहमा सञ्चालित साना सङ्ग्रहालयहरूलाई मापदण्ड र मानकका आधारमा सक्षम तथा स्तरयुक्त बनाउने दिशामा पहल गरिने उनले बताए ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ । हाल आइकम नेपालमा १९ वटा सङ्ग्रहालय संस्थागत सदस्य तथा ५१ जना व्यक्तिगत सदस्य आबद्ध रहेका छन् ।

आइकम नेपालले नेपालमा सङ्ग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, पैरवी तथा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समितिहरू सक्रिय रहेका छन्, जसअन्तर्गत नेपालको राष्ट्रिय समिति पनि पछिल्लो समय थप सक्रिय बन्दै गएको छ ।  

Share News