काठमाडौं । नेपाल चार वर्ण छत्तीस जातको साझा फुलबारी हो । नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहले भनेको यही भनाइ आज पनि राजनीतिक प्रतिनिधित्व र समावेशिताको बहसमा उत्तिकै सान्दर्भिक छ । यही मर्मलाई आधार मानेर हामीले कोशी प्रदेशबाट संसद भवन पुग्ने अभियानमा रहेका उम्मेदवारहरू कुन दलका र कुन जातीय क्लस्टरका हुन् भन्नेबारेमा खोज्ने प्रयत्न गरेका छौं ।
हिमाल, पहाड र तराई भूगोल समेटिएको कोशी प्रदेशमा १४ जिल्ला र २५ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । यसमध्ये करिब ७२ प्रतिशत अर्थात ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । तीमध्ये १८ लाख २८ हजार २१३ पुरुष र १७ लाख ४६ हजार ६३ महिला मतदाता रहेका छन् ।
कोशी प्रदेशको कुल जनसंख्याको ४४ दशमलव ६ प्रतिशत जनजाति समुदायको हिस्सा छ । जनजाति समुदायभित्र राई १० दशमलव २ प्रतिशत, लिम्बु ७ दशमलव ८ प्रतिशत छन् । तामाङ, थारु र मगरको संयुक्त हिस्सा १२ दशमलव ८ प्रतिशत छ भने नेवार, राजवंशी र हिमाली जनजातिको जनसंख्या १२ दशमलव ५ प्रतिशत रहेको छ ।
यही जनसांख्यिक आधारलाई मध्यनजर गर्दै चार ठूला दलहरूले कोशी प्रदेशमा जनजाति समुदायबाट कति उम्मेदवार उठाए भन्ने तथ्य हामीले खोजेका छौं । नेकपा एमालेले यस प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार जनजाति समुदायवाट उठाएको छ । उक्त दलका २५ मध्ये १७ जना उम्मेदवार यस प्रदेशमा जनजाति समुदायबाट रहेका छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ जना र नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १०–१० जना उम्मेदवार जनजाति पृष्ठभूमिका रहेका छन् ।
एमालेले सबैभन्दा धेरै जनजाति उम्मेदवार उठाएको छ । एमाले कोशी प्रदेशकै सबैभन्दा ठूलो दल पनि हो । एमालेका अधिकांश जिल्लामा जनजाति प्रत्यासी रहेको एमालेका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले बताए ।
एमालेले ताप्लेजुङ, पाँचथर, इलामका दुवै निर्वाचन क्षेत्र, झापाका ३ र ४ नम्बर क्षेत्र, मोरङका दुई क्षेत्र, धनकुटा, सुनसरी ३, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर–२ मा जनजाति उम्मेदवार मैदानमा उतारेको छ ।
नेपाली कांग्रेसले ताप्लेजुङ, पाँचथर, इलाम–१, झापा–४, सुनसरी–१ र ३, मोरङ–१, खोटाङ र उदयपुर–२ मा जनजाति उम्मेदवार खटाएको छ ।
कांग्रेस नेता रामहरि खतिवडाले कांग्रेसको जनजाति उम्मेदवारी सीमित भएपनि भूगोलमा फैलिएको जानकारी दिए ।
नेकपाले संखुवासभा, इलामका दुवै निर्वाचन क्षेत्र, झापा–२ र ५, भोजपुर, सोलुखुम्बु, मोरङका चारवटै र सुनसरीका दुई निर्वाचन क्षेत्र, उदयपुर–२ तथा ओखलढुंगामा जनजाति उम्मेदवारलाई नै प्रत्यासी बनाएको छ ।
नेकपाले पूर्वी तराई र पहाडमा बलियोगरी जनजाति उम्मेदवार उठाएको तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।
समावेशिताको दृष्टिले हेर्दा रास्वपाले संखुवासभा, ताप्लेजुङ र इलामका दुई निर्वाचन क्षेत्रमा जनजाति उम्मेदवार अघि सारेको छ । मोरङ–१, सुनसरी–३ तथा उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पनि जनजाति उम्मेदवार छन् । तर, झापाबाट भने रास्वपाले कुनै पनि जनजाति उम्मेदवार उठाएको छैन ।
रास्वपा समावेशितामा सचेत रहेको केन्द्रीय सदस्य निशा डाँगीले बताइन् ।
कोशी प्रदेशको जनसांख्यिक बनोट हेर्दा जनजाति समुदायको प्रतिनिधित्व राजनीतिको केन्द्रमा हुनु स्वाभाविक देखिन्छ । चार ठूला दलमध्ये एमाले र नेकपाले संख्यात्मक रूपमा अग्रता लिएका छन् भने कांग्रेस र रास्वपाको उपस्थिति तुलनात्मक रूपमा कम छ ।
फुलबारीमा सबै रंगका फूल फुल्नु नै समावेशी लोकतन्त्रको सौन्दर्य हो । अब प्रश्न यही हो—उम्मेदवारीको संख्या मात्र पर्याप्त पक्कै होइन । तीमध्ये जनमतबाट को को अनुमोदित होलान् ? यसको उत्तर फागुनको अन्तिम साताले नै बताउला ।