सुनसरी-२ मा एमालेभित्रको द्वन्द्वले कांग्रेस र रास्वपालाई राहत, यस्तो छ चुनावी अंकगणित

त्रिपक्षीय प्रतिस्पर्धा हुने प्रक्ष्येपण

काठमाडौं । सुनसरी २ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन रोचक  हुँदैछ । किनभने गत निर्वाचनमा जस्तै पुराना दलले नयाँ र टेस्टेड उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रदेश सभा सदस्य भइसकेका राजीव कोइरालालाई उठाएको छ । 

कोइराला जिल्लामा कांग्रेसवृत्तमा राम्रो नेता मानिन्छन् । उनी सुनसरी कांग्रेसको दुई पटक सभापति भइसकेका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए । उनले ३२ हजार ८ सय मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ पाएका थिए ।

प्रदेश सभाकै निर्वाचनमा कोइरालासमेत पराजित भएका थिए । उनी एमालेका उम्मेदवार रामप्रसाद मेहतासँग पराजित भएका थिए । एमालेका उम्मेदवार मेहताले १८ हजार १९१ मत प्राप्त गरेका थिए । कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका थिए ।

यतिखेर कांग्रेसका उम्मेदवार कोइरालाले घरदैलो अभियान सुरु गरिसकेका छन् । उनलाई यसपटक प्रदेशसभाको निर्वाचनमा पराजित भएको बदला लिनु छ । कोइराला निर्वाचित भए यात्रा विराटनगरबाट काठमाडौंतर्फ मोडिनेछ । यसअघि उनी प्रदेशसभाका लागि विराटनगर जाने गर्थे । उनी कोशी प्रदेश सभा कांग्रेसबाट संसदीय दलका नेतासमेत भएका थिए ।

कांग्रेसका कार्यकर्ता तथा शुभ चिन्तकहरूले एमालेले कमजोर उम्मेदवार उठाएकाले पनि राजीव कोइरालाले सहजै जित हासिल गर्ने अनुमान गरेका छन् । २ नम्बर क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाका कांग्रेस सभापति सुदीप अधिकारी कांग्रेस र रास्वपाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन् । 

‘कांग्रेसको विशेष महाधिवेशनको कारण हामीलाई मतदाताको घरमा जान सहज भएको छ,’ उनले भने, ‘पुराना नेताहरूलाई विशेष अधिवेशनबाट नेतृत्वबाट विदा गरेका छौं भनेर भन्न पाइएको छ । यसपटक कांग्रेसको उम्मेदवार निर्वाचित भएमा युवा नेतृत्वले मुलुक हाँक्न सक्छन् ।’

पार्टीले विवादरहित र निष्कलंक उम्मेदवार उठाएको अधिकारी दाबी गर्छन् । उनले भने, ‘अन्य दलका व्यक्तिहरू पनि कांग्रेसको उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको छ । प्रदेश सभा सदस्य भइसकेको र दुई पटक जिल्ला सभापति भइसकेकाले उहाँप्रति सबैको भरोसा छ ।’

कार्यकर्ताहरूले मिहिनेत गरेमा यसपटक कांग्रेसको उम्मेदवार विजयी हुने सम्भावना रहेको उनको भनाइ छ । जति धेरै जितको सम्भावना भए पनि कोइरालालाई चुनौती उत्तिकै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरूले भोट काट्ने जोखिम उत्तिकै छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वापाले करिब २० हजार मत हासिल गरेको थियो । यस पटकको निर्वाचन झन रास्वपामय भएको चुनावी माहोलले देखाइरहेको छ ।

सुनसरी २ मा आलोपालो कांग्रेस एमालेको जित हुँदै आएको इतिहास छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा कांग्रेसका सीताराम मेहताले जित हासिल गरेका थिए । गत निर्वाचनमा भने एमालेका भीम आचार्य निर्वाचित भएका थिए । त्यहीँ भएर पनि कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा कार्यकर्ताहरू ढुक्क छन् । कतिपय कार्यकर्ताहरू आत्मविश्वासका साथ निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।

त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी २ मा भने एमालेले कोशी प्रदेश युवा संघका संयोजक सुजन लामालाई टिकट दिएको छ । सुरुमा एमालेले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई त्यस क्षेत्रमा टिकट दिइएको थियो । तर, पछि उनको टिकट खोसेर लामालाई दिइएको थियो । उनले टिकट पाउनासाथ सुनसरी एमालेमा विरोध भएको थियो ।

लामा एमाले युवाहरूमा मात्र परिचित छन् । २ नम्बर क्षेत्रमा युवाको भन्दा वयस्क उमेरका एमालेहरूको बाहुल्यता रहेकाले उनीमाथि अन्तर्घात हुन सक्ने सम्भावना देखिन्छ । लामा युवा उम्मेदवार भएकाले समाज र राजनीतिक चेतना समेत नभएको भन्दै स्थानीयहरू असन्तुष्टि छन् । उनलाई निर्वाचनमा सबैभन्दा धेरै धोका एमालेका कार्यकर्ताबाट हुने बताइएको छ ।  

इटहरीको १० वटा वडामा एमालेको मत राम्रो रहेको छ । सोही क्षेत्रमा एमालेको मतदाता रहे पनि तल्लो क्षेत्रमा भने एमालेको उपस्थिति न्यून छ ।  अन्य स्थानीय तहका वडामा एमालेको मत कमजोर रहेको छ । अन्य भेगमा एमालेको भन्दा कांग्रेसको मतदाताहरूको संख्या बढी छ ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य डेगराज फुँयालले २ नम्बर क्षेत्रमा २० भन्दा बढी वडामा एमाले जनप्रतिनिधि रहेकाले आफ्नो उम्मेदवारले सहजै जित हासिल गर्ने दाबी गरे । ‘एमालेको उम्मेदवारलाई जिताउन घरदैलो अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट युवा उम्मेदवार रहेकाले अन्य दलका युवाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।’

२ नम्बर क्षेत्रका एमालेहरू उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर लागिसकेको फुँयालले बताए । पार्टीका पुराना तथा अग्रज कार्यकर्ताहरूमा अहिलेको उम्मेदवारमा कुनै तुष नभएको दाबी गरे । कार्यकर्ता एक भएर सबै वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसारमा लागिसकेको फुँयालले बताए । ‘२ नम्बर क्षेत्रमा एमालेको प्रतिस्पर्धा कांग्रेसको उम्मेदवारसँग हुन्छ,’ उनले भने ।

गत निर्वाचनमा रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । यस पटक पनि पार्टीबाट तिनै उम्मेदवार पुनः दोहोरिएका छन । मुलुकभर रास्वपातर्फ मतदाताहरू आकर्षित भएकाले उनले पनि जित हासिल गर्न सक्ने सम्भावना बढी देखिन्छ । 

यी हुन् अन्य उम्मेदवारहरू 

सुनसरी २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता,  नेमकिपाबाट गीता मैया बाजीको उम्मेदवारी परेको छ । 

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति राईबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टी गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपाल सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । 

सुनसरी–२ मा स्वतन्त्र उम्मेदवारका रुपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री रसत्यनारायण पण्डित उम्मेदवार बनेका छन् । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् भने ४० वटा मतदानस्थल र मतदान केन्द्र १६१ वटा रहेका छन् ।

२ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको १० वटा वडा, रामधुनी नगरपालिकाको ६ वटा वडा,  इनरूवा नगरपालिकाको ६ वटा वडा, देवानगञ्ज गाउँपालिकाको ७ वटा वडा  र हरिनगर गाउँपालिका १ वटा वडा पर्छन् ।

Share News