काठमाडौं । टेस्लाले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) कम्पनी एक्सएआईमा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । साथै यसै वर्षका लागि तय गरिएको ‘साइबरक्याब’ रोबोट्याक्सीको उत्पादन योजना पनि सही दिशामा अघि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसले टेस्लालाई केवल विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनीबाट एआई कम्पनीतर्फ मोड्ने मस्कको योजनालाई बल दिएको छ । यही योजना कम्पनीको करिब १.५ ट्रिलियन डलरको मूल्यांकनको प्रमुख आधार मानिन्छ । उत्पादन योजना समयमै अघि बढिरहेको आश्वासन लगानीकर्ताको विश्वासका लागि महत्त्वपूर्ण छ, किनकि मस्कले विगतमा गरेका धेरै प्रतिवद्धता टेस्लाले पूरा गर्न सकेको छैन ।
तर, साइबरक्याब, मानवरूपी (ह्युमानोइड) रोबोट, सेमी ट्रक र रोडस्टर स्पोट्र्स कार निर्माण गर्ने मस्कको योजनाका कारण यस वर्ष टेस्लाको पुँजीगत खर्च (क्यापेक्स) २० अर्ब डलर नाघ्ने भएको छ । प्रमुख वित्तीय अधिकृत वैभव तनेजाले यो जानकारी दिएका हुन् ।
यो रकम सन् २०२५ को ८.५ अर्ब डलरको खर्चभन्दा दोब्बरभन्दा बढी हो । विस्तारित कारोबारपछि सेयर मूल्य करिब ३.५ प्रतिशतले बढे पनि क्यापेक्स विवरण सार्वजनिक भएपछि बढोत्तरी घट्दै १.८ प्रतिशतमा सीमित रह्यो ।
इन्भेस्टिङ डटकमका वरिष्ठ विश्लेषक थोमस मोन्टेइरोका अनुसार टेस्ला अहिले ‘संक्रमण चरण’मा प्रवेश गरिरहेको छ, जहाँ गाडी बिक्री पुनः बढ्नु अघि नै लगानीकर्तालाई सेल्फ–ड्राइभिङ सफ्टवेयर र रोबोट्याक्सी व्यवसायबाट हुने सम्भावित आम्दानीमा विश्वास गर्न आग्रह गरिएको छ ।
उनले भने, ‘अब डेलिभरी होइन, रोलआउटको प्रगति नै सबैभन्दा महत्त्वपूर्ण सूचक हुनेछ ।’
रोबोट्याक्सीबारे धेरैपटक गलत पूर्वानुमान गरिसकेका मस्कले यसै वर्षको अन्त्यसम्म अमेरिकाको एक चौथाइदेखि आधा भागमा पूर्ण स्वचालित सवारी सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन् ।
यसअघि उनले सन् २०२५ को अन्त्यसम्म अमेरिकी जनसंख्याको आधासम्म रोबोट्याक्सी पुग्ने बताएका थिए, पछि उक्त लक्ष्य घटाएर ८ देखि १० ठूला महानगरमा सीमित गरेका थिए । तर हालसम्म टेक्सासको अस्टिनमा सीमित सेवा मात्र सञ्चालनमा आएको छ ।
टेस्ला प्रतिस्पर्धी कम्पनीहरूले सस्ता र नयाँ मोडल ल्याएपछि दबाबमा परेको छ । यसको मुख्य ईभी व्यवसाय जसले हाल पनि कम्पनीको अधिकांश आम्दानी ओगटेको छ । साथै अमेरिकामा विद्युतीय सवारीका लागि दिइँदै आएको कर प्रोत्साहन समाप्त भएको छ र मस्कको अतिदक्षिणपन्थी राजनीतिक अभिव्यक्तिले केही ग्राहक टाढिएका छन् ।
बुधबारको कन्फरेन्स कलमा मस्कले मोडल एस सेडान र मोडल एक्स एसयूभीको बिक्री बन्द गर्ने बताएका छन् । एक समय ईभी बजारमा टेस्लाको पहिचान बनाएका यी मोडल अहिले कुल आम्दानीको सानो अंश मात्र बनेका छन् । खाली हुने कारखाना क्षेत्र रोबोट निर्माणमा प्रयोग गरिनेछ ।
सन् २०२५ मा टेस्लाको आम्दानी करिब ३ प्रतिशत घटेर ९४.८३ अर्ब डलरमा झरेको छ, जुन कम्पनीको इतिहासमै पहिलो वार्षिक आम्दानी गिरावट हो ।
बिक्री जोगाउन टेस्लाले छुट र प्रोत्साहनमा ठूलो निर्भरता बढाएको छ र लोकप्रिय मोडलका सस्ता संस्करण ल्याएको छ । भिसिबल अल्फाको तथ्यांकअनुसार वाल स्ट्रिटले सन् २०२६ मा टेस्लाले १७।७७ लाख सवारी डेलिभर गर्ने अनुमान गरेको छ, जुन ८.२ प्रतिशत वृद्धि हो।
चौथो त्रैमासिकमा प्रति सेयर समायोजित आम्दानी ५० सेन्ट पुगेको छ, जुन वाल स्ट्रिटको ४५ सेन्टको अनुमानभन्दा बढी हो । तर सो अवधिमा खुद नाफा ६१ प्रतिशतले घटेर ८४ करोड डलरमा सीमित भएको छ ।
बिक्री घटे पनि नियामक क्रेडिट बाहेकको अटोमोटिभ सकल नाफा मार्जिन १७.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १३.६ प्रतिशतभन्दा धेरै र अनुमानित १४.३ प्रतिशतभन्दा माथि हो ।
ऊर्जा उत्पादन तथा भण्डारण व्यवसाय टेस्लाका लागि उज्यालो पक्ष बनेको छ । नवीकरणीय ऊर्जालाई समर्थन गर्ने ग्रिड–स्तरका ब्याट्रीको माग बढेपछि यस क्षेत्रमा राम्रो वृद्धि देखिएको हो ।
डिसेम्बर त्रैमासिकमा ऊर्जा उत्पादन तथा भण्डारणबाट हुने आम्दानी २५.५ प्रतिशतले बढेर कीर्तिमानी ३।८४ अर्ब डलर पुगेको छ, जुन विश्लेषकको ३.४६ अर्ब डलरको अनुमानभन्दा धेरै हो ।
‘तात्तिएको एआई बूम’
लगानीकर्ताहरू मस्कको सेल्फ–ड्राइभिङ प्रविधि र रोबोटिक्समा केन्द्रित रणनीतिमा झन् चासो देखाइरहेका छन् र अब वाचा होइन, व्यवहारिक उत्पादनको प्रमाण खोजिरहेका छन् ।
टेस्लाले एक्सएआईमा लगानी गर्ने अपेक्षा लामो समयदेखि गरिएको थियो ।विश्लेषकहरूका अनुसार टेस्लाले एक्सएआईका उन्नत मोडल र बढ्दो मूल्यांकनबाट फाइदा लिनेछ ।
ज्याक्स इन्भेस्टमेन्ट रिसर्चका का सेयर रणनीतिकार एन्ड्र्यु रोक्को भन्छन्, ‘परम्परागत ईभी व्यवसाय सुस्त हुँदै जाँदा टेस्लाका लगानीकर्ताले तात्तिएको एआई बूममा सहभागिता जनाउन सक्छन् ।’
तर मस्कले मेमोरी चिपको सम्भावित अभावबारे चेतावनी दिँदै यसले आगामी वर्षहरूमा टेस्लाको योजना प्रभावित पार्न सक्ने बताएका छन् । आपूर्ति सुरक्षाका लागि चिप उत्पादन प्लान्ट निर्माण गर्ने विकल्प पनि सोच्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘यदि हामीले त्यसो गरेनौं भने आपूर्ति श्रृंखलाले हामीलाई सीमित बनाइदिन्छ । खराब भू–राजनीतिक अवस्थामा यो निकै गम्भीर समस्या हुन सक्छ ।’
अमेरिकी प्रविधि कम्पनीहरूले तीव्र रूपमा एआई पूर्वाधार विस्तार गर्दा विश्वकै धेरै मेमोरी चिप त्यतै खपत भइरहेका छन्, जसले मूल्य बढाएको छ र उपभोक्ता उपकरणभन्दा डाटा सेन्टरलाई प्राथमिकता दिइएको छ ।
लगानीकर्ताहरू टेस्लाको फुल सेल्फ–ड्राइभिङ र रोबोट्याक्सी रोलआउटमा नियामकीय प्रगति र स्पष्ट समयरेखाको पनि प्रतीक्षा गरिरहेका छन् । साइबरक्याब स्टेयरिङ ह्वील र पेडलविनाको डिजाइनमा तयार पारिएको हो ।
हाल मोडल वाइमा आधारित रोबोट्याक्सी सेवामा साइबरक्याब थपिनेछ र उपभोक्ताले किन्न पनि सक्नेछन् ।
गत साता मस्कले साइबरक्याब र ह्युमानोइड रोबोट ‘अप्टिमस’ को सुरुआती उत्पादन अत्यन्तै ढिलो हुने बताएका थिए । बुधबार उनले सन् २०२६ को अन्त्यसम्म उल्लेखनीय अप्टिमस उत्पादन हुने अपेक्षा नरहेको स्पष्ट पारे ।
स्टेयरिङ ह्वील र पेडल नहुने साइबरक्याब हालका संघीय डिजाइन मापदण्डविरुद्ध हुने भएकाले नियामकीय चुनौती पनि कायमै छ ।
मस्कले करिब एक दशकदेखि फुल सेल्फ–ड्राइभिङमा तीव्र प्रगतिको भविष्यवाणी गर्दै आएका छन्, तर नियामकीय स्वीकृति वा पूर्ण स्वचालित सञ्चालनको ठोस मिति दिएका छैनन् ।
यद्यपि सन् २०२५ मा टेस्लाको सेयर मूल्य करिब ११ प्रतिशतले बढेको छ । उच्च परिचालन र मूल्यांकन लक्ष्यसँग जोडिएको ८७.८ अर्ब डलरको तलब प्याकेजले मस्क टेस्लाप्रति प्रतिबद्ध रहेको जनाएको छ ।