वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँ मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड रुपैयाँ बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो । चालु आवको छ महिनामा तीन अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ । 

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ । 

त्यसैगरी, एक अर्ब रुपैयाँ मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोड रुपैयाँबराबर रहरको दाल र १६ करोड रुपैयाँ मूल्यको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख रुपैयाँ मूल्यका बकुल्लाको आयात भएको छ ।  

Share News