डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो, हवाई इन्धनको ७ डलर घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ पैसा, डिजेल/मट्टितेलमा प्रतिलिटर ४.६६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर १.०८ रुपैयाँ घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

Share News