युवासंघको अध्यक्षमा महाराज मनोनित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय परिषद् बैठकले गुरुङ लाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । युवा संघ नेपाल नेकपा एमाले सम्वद्ध युवाहरूको संगठन हो ।

संघका अध्यक्ष क्षितिज थेवे एमाले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले संघको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए । 

एमालेको संगठनात्मक परम्पराअनुसार माथिलल्लो कमिटीमा वा जनवर्गीय संगठनबाट पार्टीमा निर्वाचित भएपछि तल्लो तहको वा जनवर्गीय संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ ।

संघको पछिल्लो महाधिवेशनबाट लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थेवे ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका छन् ।

नवनियुक्त अध्यक्ष गुरुङ यसअघि संघको उपाध्यक्ष हुन् । उनी पनि महाधिवेशनमार्फत दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका थिए । 

दोलखा निवासी गुरुङले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । 

अनेरास्ववियु हुँदै युवा आन्दोलनमा सक्रिय भएका उनले राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्यका रूपमा संगठनमा प्रवेश गरेका थिए ।

Share News