खजुरीको नेपाल: २ अर्बको आम्दानी, १.५ अर्ब ऋण

काठमाडौं । बिस्कुट, कुकिज तथा पेस्ट्री/पफ्स उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले सन् २०२५ मा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २०.२२ प्रतिशत अर्थात् ३४ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो । 

कम्पनीका अनुसार पछिल्ला वर्षहरूमा खजुरीको नेपालको आम्दानी निरन्तर बढ्दै आएको छ । सन् २०१९ मा ९९ करोड ८० लाख रुपैयाँ रहेको कारोबार सन् २०२० मा १ अर्ब १५ करोड २० लाख रुपैयाँ पुगेको थियो । यस्तै, सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । 

‘खजुरीको’ ब्रान्डको बलियो पहिचान, अनुभवी व्यवस्थापन टोली तथा देशव्यापी वितरण सञ्जालले राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान गरेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै पनि कम्पनीको आम्दानी करिब ३० प्रतिशतले बढेको छ ।

खजुरीको नेपाल सन् २००४ अप्रिलमा स्थापना भएको हो । यसअघि कम्पनी सन् १९९५ देखि एकल स्वामित्वको फर्मका रूपमा सञ्चालन हुँदै आएको थियो । हाल कम्पनीका उत्पादन युनिटहरू ललितपुर, चितवन र मकवानपुरमा रहेका छन्, जहाँबाट देशभर वितरण सञ्जाल विस्तार गरिएको छ । 

कम्पनीको सेयर स्वामित्व एउटै परिवारका ६ जना सदस्यमा सीमित छ । कम्पनीका अध्यक्ष ओमनाथ महर्जन हुन् । पारिवारिक स्वामित्व र दीर्घकालीन अनुभवका कारण खजुरीको नेपाल नेपाली खाद्य उद्योगमा स्थापित र विश्वासिलो ब्रान्डका रूपमा परिचित हुँदै आएको छ । कम्पनीका अनुसार बिस्कुट तथा कुकिज उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ ।

घरेलु तथा बहुराष्ट्रिय ब्रान्डको उपस्थितिले बजारमा दबाब सिर्जना गरिरहेको छ भने नयाँ उत्पादनको प्रवेश र उपभोक्ताको प्राथमिकतामा हुने परिवर्तनले मागमा असर पार्न सक्ने कम्पनीले जनाएको छ । हाल लागू उच्च आयात शुल्क कम्पनीका लागि सकारात्मक भए पनि नीतिगत परिवर्तन भए व्यवसायमा असर पर्न सक्ने जोखिम रहेको छ । null

उद्योगका प्रमुख कच्चा पदार्थ सफा गरिएको गहुँको पिठो, घ्यू, पाम तेल र चिनी-कृषि आधारित भएकाले बाढी, सुख्खा, कीरा प्रकोपजस्ता प्राकृतिक जोखिमबाट प्रभावित हुने सम्भावना रहन्छ । यस्ता जोखिम सन् २०२२ र सन् २०२५ मा देखिएको भन्दै त्यसले उत्पादन लागत र मुनाफामा दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । 

खजुरीको एक विश्वसनीय नेपाली ब्रान्ड हो, जसको सुरुआत ललितपुरको चापागाउँस्थित सानो घरेलु बेकरीबाट भएको थियो । संस्थापक जगन्नाथ महर्जनले आफ्ना बुवालाई घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने काममा सहयोग गर्दै व्यावसायिक यात्रा सुरु गरेका थिए । 

बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएर सुरुवात गरेको खजुरीको नेपालले काठमाडौं उपत्यकापछि व्यवसायलाई क्रमशः ठूलो औद्योगिक सञ्चालनमा रूपान्तरण गरिएको छ । आज खजुरीकोले डेढ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीले बिस्कुट, कुकिज, पफ, स्टिक चाउचाउ उत्पादन गर्दै आएको छ भने केही उत्पादन विदेशमा समेत निर्यात गरिरहेको जनाएको छ ।

व्यवसाय विस्तारसँगै कम्पनीले बैंकबाट कर्जा समेत बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २३ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यसअघि कम्पनीले ८७ करोड ४७ लाख दीर्घकालीन र २२ करोड ५३ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १० करोड रुपैयाँ मात्रै ऋण लिएको थियो ।

Share News