काठमाडौं । राजधानीको ज्ञानेश्वरस्थित अजया ज्वेल्समा चाँदी किन्ने ग्राहकहरूको भीड लागेको छ । बजारमा चाँदी अभाव भएकाले अजया ज्वेल्समा चाँदी किन्नेको भीड लागेको हो ।
चाँदीका आपूर्तिकर्ता राकेश अकाडिया हुन्, उनले नेपालमा केवल चाँदी मात्रै नभई टेस्ला, अडी र पोर्शे जस्ता लक्जरी गाडीहरू पनि बिक्री गर्दै आएका छन् ।
यहाँ दैनिक करिब ३ सय किलो चाँदी बिक्री हुँदै आएको बताइएको छ ।
सुनको मूल्य लगातार बढ्दै गएपछि लगानीकर्ताहरूले चाँदीलाई सुरक्षित विकल्पका रूपमा हेर्न थालेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रति तोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १२० प्रतिऔंस डलर नाघेको छ । सन् २०२६ मा चाँदीको मूल्य लगभग २०० प्रतिशत बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०२५ मा चाँदीको मूल्य १४४ प्रतिशतले बढेको थियो । २०२६ मा चाँदी थप बढ्ने विशेषज्ञहरू बताउँछन् ।
इकोनोमिक्स टाइम्सले २०२६ का लागि सुन र चाँदीको मूल्य अनुमानबारे १० जना कमोडिटी बजार विज्ञहरूसँग प्रश्न गर्दा उनीहरूले मूल्य अझै माथि जाने बताएका थिए। उनीहरूमध्ये ८ जना चाँदीले सुनभन्दा राम्रो प्रदर्शन गर्ने बताएका थिए ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको हो । विश्वव्यापी आर्थिक अस्थिरता र भू‑राजनीतिक तनाव, औद्योगिक मागको वृद्धि, आपूर्तिमा सीमिततालगायतका कारणले सुन र चाँदीको मूल्य बढेको हो ।
चाँदी सोलार प्यानल, विद्युतीय सवारी साधन र एआईजस्ता तीव्र रूपमा बढिरहेका उद्योगहरूमा प्रयोग हुन्छ ।








