अर्थतन्त्र आगामी चुनावको साझा एजेन्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेन्डा बन्नुपर्ने धारणा राखेका छन् । बिहीबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्र विकासको एजेन्डालाई प्राथमिकता दिन र सबैको साझा एजेन्डा बनाउन आग्रह गरेका हुन् ।

उनले भने, 'राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसद् निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।'

साथै, अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेन्डाहरू समावेश गर्न पनि आग्रह गरे ।

उनले औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेन्डाहरू राज्यसमक्ष राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेन्डाले प्राथमिकता पाउनुपर्ने तर्क गरे ।

उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको उल्लेख गर्दै यसका लागि सबै दललाई एउटै मञ्चमा राखेर महासंघले बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरिएको प्रसंग स्मरण गरे । उनले उक्त आयोगका कतिपय सुझावहरू हाल कार्यान्वयनमा आइसकेको पनि बताए ।

अध्यक्ष ढकालले देशमा लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधनदेखि महासंघको विधानलाई समयसापेक्ष बनाउनेसम्मका काम आफू महासंघको नेतृत्वमा आएपछि सम्पन्न भएका पनि स्मरण गरे ।

Share News