विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण

त्रिपक्षीय प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए । 

कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो । 

यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्यो ।  विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए ।

दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे ।

विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् । 

यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्याउने दाउमा छन् ।

गच्छदारको सत्ता तोड्ने चौधरी

नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् । 

३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् । 

चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् ।

nullएमालेकी उम्मेदवार भगवती चौधरी । 

चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् ।

असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ । 

जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् ।

nullसुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी । 

चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् ।

गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् ।

कस्तो छ पार्टीको माहोल ?

नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् ।

एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’

नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ । 

३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए ।

‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’

घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ । 

रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने ।

रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ ।

३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए । 

सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् । 

यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी,  उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव,  नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी,  स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् ।

जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।

Share News