चीनमा सस्तो र शक्तिशाली एआई मोडेलको बाढी, अमेरिकी एआईहरूलाई चुनौती दिँदै

काठमाडौं । अमेरिकाका प्रतिस्पर्धी ओपनएआई, एन्थ्रोपिक र गुगलसँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा चिनियाँ कम्पनीहरूले नयाँ कृत्रिम बौद्धिकता (एआई) मोडेलको सार्वजनिक प्रयोग तीव्र रूपमा अघि बढाइरहेका छन् ।

झन्डै एक वर्षअघि मात्र चीनमा विकसित डीपसीकले कम प्रयोग शुल्क र कम उत्पादन लागतमा एआई च्याटबोट सार्वजनिक गर्दै ‌‌ओपनएआईको च्याटजीपीटीलाई चुनौती दिएपछि विश्व बजार नै तरंगित भएको थियो । यसले चीनमाथि लगाइएका अमेरिकी प्रविधि प्रतिबन्धहरूको प्रभावकारितामाथि समेत प्रश्न उठाएको थियो ।

मंगलबार बेइजिङस्थित स्टार्टअप मुनसट एआईले किमी के २.५ सार्वजनिक गर्यो । कम्पनीका अनुसार यसमा भिडियो निर्माण र ‘एजेण्टिक’ क्षमता रहेका छन्, जसले प्रमुख तीन अमेरिकी एआई मोडेलभन्दा राम्रो प्रदर्शन गरेको दाबी गरिएको छ । एजेण्टिक एआई भन्नाले मानिसको तर्फबाट कार्य सम्पादन गर्न सक्ने एआई प्रणालीलाई जनाउँछ । यसको अन्तिम लक्ष्य न्यूनतम प्रयोगकर्ता हस्तक्षेपमै स्वतः काम गर्न सक्ने उन्नत एआई एजेण्ट विकास गर्नु हो ।

मुनसुटले के टु मोडेल सार्वजनिक गरेको करिब तीन महिनापछि मात्रै यो नयाँ अपडेट आएको हो ।

यसअघि नै ई–कमर्स दिग्गज अलिबाबाले प्रयोगकर्ताको निर्देशनअनुसार पाठ, तस्बिर वा भिडियो सिर्जना गर्न सक्ने आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको थियो । अलिबाबाका अनुसार यसको क्यूवेन ३ म्याक्स थिङ्किङ मोडेलले ‘मानव अस्तित्वको अन्तिम परीक्षा’ नामक व्यापक बेन्चमार्क परीक्षणमा प्रमुख अमेरिकी प्रतिस्पर्धीहरूलाई उछिनेको छ ।

अलिबाबाले नयाँ मोडेलले विभिन्न कार्यका लागि उपयुक्त एआई उपकरण स्वतः छनोट गर्न सक्ने, अघिल्ला संवादलाई सन्दर्भका रूपमा प्रयोग गरी अझ प्रभावकारी रूपमा नयाँ उत्तर सिर्जना गर्न सक्ने र यो सबै न्यून अतिरिक्त लागतमा सम्भव भएको जनाएको छ ।

जनवरी १९ मा जेड एआईले हालै सार्वजनिक गरेको जीएलएम ४।७ मोडेलको निःशुल्क संस्करण ल्याएको थियो । त्यसको दुई दिनपछि अत्यधिक मागका कारण उपलब्ध कम्प्युटिङ क्षमतामा दबाब परेपछि कम्पनीले आफ्नो एआई कोडिङ उपकरणका नयाँ प्रयोगकर्ताको दर्ता अस्थायी रूपमा सीमित गर्यो ।

गत साता हङकङमा सूचीकृत चिनियाँ प्रविधि कम्पनी बाईडूका सेयरहरू करिब तीन वर्षयताकै उच्च स्तरमा पुगे, जब कम्पनीले आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल अर्नि ५.० सार्वजनिक गर्यो । कम्पनीले यो मोडेल गुगलको जेमिनी– २.५– प्रोभन्दा उत्कृष्ट भएको दाबी गर्यो, तर गुगल डीपमाइन्डको नयाँ जेमिनी थ्री प्रोसँग भने तुलना गरेन ।

गुगल डीपसीकका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) डेमिस हासाबिसले यस महिना सीएनबीसीलाई दिएको अन्तर्वार्तामा चीनका एआई मोडेलहरू अमेरिकी मोडेलभन्दा केही ‘महिना’ मात्र पछाडि रहेको बताएका छन् ।

नयाँ मोडेल सार्वजनिक गर्नुका अतिरिक्त चिनियाँ कम्पनीहरूले स्वदेशी प्रविधिको प्रयोग विस्तार गर्न उदीयमान अर्थतन्त्रहरूका लागि सस्तो बनाउने रणनीति अपनाइरहेका छन् ।

अमेरिकामा विकसित धेरै एआई मोडेलभन्दा फरक चिनियाँ एआई मोडेलहरू प्रायः ‘ओपन–सोर्स’ हुन्छन्, जसले निःशुल्क वा कम लागतमा पहुँच र मोडेलको आधारभूत कोड अनुकूलन गर्ने सुविधा दिन्छ ।

एलएसवाई कन्सल्टिङका संस्थापक एलेक्स लुले भने, ‘चीनबाहेकका देशहरूले पनि यी मोडेल प्रयोग गरून् भन्ने चिनियाँ कम्पनीहरूको अपेक्षा छ । यही माध्यमबाट उनीहरू बजारमा प्रवेश गर्न खोजिरहेका छन् ।’

यो प्रवृत्ति सुरु भइसकेको संकेत पनि देखिएको छ । माइक्रोसफ्टले यसै महिना डीपसीकको प्रयोग अफ्रिकामा अन्य क्षेत्रको तुलनामा दुईदेखि चार गुणा बढी रहेको अनुमान सार्वजनिक गरेको थियो ।

Share News