होटलमा करोडौं तलब, लाखौं भत्ता

काठमाडौं । नेपालका सुविधा सम्पन्न होटलहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकका लागि आकर्षक तलब-सुबिधा उपलब्ध गराउँदै आएका छन् । सार्वजनिक तथ्यांकअनुसार पब्लिक कम्पनीका रूपमा सूचीकृत ७ वटा होटलमा कार्यरत सीईओ तथा शीर्ष व्यवस्थापनले वार्षिक करोडभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । 

होटल व्यवसाय पुँजी, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले अनुभवी, योग्य र विज्ञ सीईओ अपरिहार्य मानिन्छन् । यही कारण कम्पनीहरूले व्यवस्थापन तहमा उत्कृष्ट जनशक्ति आकर्षित गर्न उच्च तलब, भत्ता र सुविधा दिनु स्वाभाविक भएको सरोकारवालाहरू बताउँछन् ।

विशेषगरी अन्तर्राष्ट्रिय ब्रान्ड, पाँचतारे सेवा र विदेशी पर्यटक लक्षित होटलमा रणनीतिक निर्णय, लागत व्यवस्थापन र ब्रान्ड छविको भूमिका सीईओकै काँधमा रहने गर्छ । 

सोल्टी होटल लिमिटेड

सोल्टि होटलले आव २०८१/८२ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १५ करोड १८ लाख ९१ हजार ६९८ रुपैयाँ प्रदान गरेको कम्पनीले जनाएको छ । आव २०८०/८१ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १६ करोड २० लाख १८ हजार ७३८ रुपैयाँ प्रदान गरेको थियो । 

साथै गत वर्ष कम्पनीले सञ्चालक समितिको बैठक भत्ता बापत १६ लाख ४७ हजार ७२ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आव २०८०/८१ मा कम्पनीले सञ्चालक समिति बैठक भत्ता बापत १७ लाख ९४ हजार १३२ रुपैयाँ भुक्तानी गरेको थियो । कम्पनीले सञ्चालक समितिको प्रतिबैठक भत्ता बापत २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

कम्पनीले कार्यकारी अध्यक्ष, उपाध्यक्ष र महाप्रबन्धकहरूलाई अन्य सुविधाहरूको रूपमा ड्राइभर, सवारीसाधनको इन्धन तथा मर्मतसम्भारसहित कार्यालय सवारीसाधन (कार) पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । कम्पनीको कार्यकारी अध्यक्ष पदमा दिनेश बहादुर विष्ट कार्यरत छन् ।

तारागाउँ रिजेन्सी होटल्स

गत आर्थिक वर्ष २०८१/८२ मा तारागाउँ रिजेन्सी होटल्सले प्रबन्ध सञ्चालकलाई कुल १ करोड ७१ लाख ९६ हजार १२५ रुपैयाँ र कार्यकारी सञ्चालकलाई १ करोड १६ लाख ४ हजार रुपैयाँ पारिश्रमिक बापत भुक्तानी गरेको छ । साथै गाडी तथा इन्धन सुविधा पनि प्रदान गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस कम्पनीले प्रबन्ध सञ्चालकलाई कुल १ करोड २० लाख ८७ हजार २४ रुपैयाँ र कार्यकारी सञ्चालकलाई ८१ लाख ७ हजार १५० रुपैयाँ पारिश्रमिकवापत भुक्तानी गरेको थियो ।

होटलको सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा २३ हजार ५२९ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको छ । अघिल्लो आव २०८०/८१ मा सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा ११ हजार ७६४ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको थियो । 

कम्पनीको प्रबन्ध सञ्चालक अरुणकुमार सराफ छन् भने कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ छन् ।

ओरिएण्टल होटल्स लिमिटेड

ओरिएण्टल होटल्सले गत आर्थिक वर्ष २०८१/८२ मा प्रबन्ध सञ्चालकलाई १ करोड ४० लाख ७५ हजार ४०९ रुपैयाँ भुक्तानी गरेको छ । साथै, कम्पनीले सहप्रबन्ध सञ्चालक ७७ लाख २९ हजार ५०८ रुपैयाँ, महाप्रबन्धकलाई १ करोड १२ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । 

यसअघि आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध सञ्चालकलाई ७३ लाख ६१ हजार ९०६ रुपैयाँ र महाप्रबन्धकलाई १ करोड १० लाख ४२ हजार २१६ रुपैयाँ पारिश्रमिक प्रदान गरेको थियो । 

यसको अलावा निजहरूसँग भएको सम्झौता बमोजिम बस्ने गरेको घरको बिजुली, खानेपानी, मर्मत सम्भार तथा टेलिफोन खर्च पनि कम्पनीले नै बेहोर्ने गरेको छ ।

साथै कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समितिको बैठक भत्ता बापत अध्यक्षलाई प्रतिबैठक १० हजार रुपैयाँ र सञ्चालकहरूलाई ९ हजार रुपैयाँ प्रदान गरेको छ । 

चन्द्रागिरि हिल्स

चन्द्रागिरि हिल्सले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक सदस्यहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रूपमा ५ लाख ६० हजार भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीका सीईओ अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ७६ लाख ५७ हजार ४५३ रुपैयाँ (कर सहित) प्रदान गरिएको छ ।

आव २०८०/८१ मा सीईओलाई ६१ लाख बढी तलब सुविधा प्रदान गरेको थियो । जसमा पूर्व महाप्रबन्धक सञ्जीव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ३० लाख ४० हजार १८४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो भने हालका सीईओ अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ३१ लाख ६३ हजार ९६५ रुपैयाँ (करसहित) प्रदान गरिएको थियो । 

आव २०८०/८१ मा सञ्चालकहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रूपमा सञ्चालक समितिका अध्यक्षलाई १ लाख ६० हजार तथा अन्य सञ्चालकहरूलाई ५ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । 

कालिञ्चोक दर्शन

कालिञ्चोक दर्शन लिमिटेडले गत आव २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब तथा अन्य सुविधाबापत २७ लाख २८ हजार ९६९ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार सीईओलाई तलब बापत १८ लाख ११ हजार ४० रुपैयाँ, भत्ता तथा बोनस बापत ७ लाख ११ हजार ८५५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख १२ हजार ४०४ रुपैयाँ र दशैँ भत्ता बापत ९३ हजार ६७० रुपैयाँ भुक्तानी गरेको छ ।

अघिल्लो आव २०८०/८१ मा प्रमुख सीईओलाई तलब बापत १७ लाख ७४ हजार ८ सय रुपैयाँ, भत्ता तथा बोनस बापत ८ लाख ४० हजार ५२५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख ८ हजार ७८० रुपैयाँ र दशैँ भत्ता बापत ९० हजार ६५० रुपैयाँ भुक्तानी गरेको थियो ।

यस्तै, गत आव २०८१/८२ मा कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ५ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । अघिल्लने आवमा कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ४ लाख ८३ हजार रुपैयाँ प्रदान गरेको थियो । 

सिटि होटल

सिटि होटलले गत आव २०८१/८२ मा कम्पनीका पूर्वमहाप्रबन्धक वाल्टर टोनी सेवियो परेरालाई ३६ लाख ५५ हजार ४१६ रुपैयाँ वरुण तलवारलाई ६९ लाख १२ हजार ७१३ रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आव २०८०/८१ मा कम्पनीले पूर्वमहाप्रबन्धक वरुण तलवारलाई ९० लाख ६३ हजार ९७५ रुपैयाँ भुक्तानी गरेको थियो । 

यस कम्पनीका सञ्चालकहरूलाई प्रत्येक बैठक बापत १० हजार रुपैयाँ (कर सहित) बाहेक कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा दिइएको छैन । सञ्चालक समितिलाई आव २०८१/८२ मा भुक्तान गरिएको कुल बैठक भत्ता ६ लाख १० हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०८०/८१ मा ३ लाख रुपैयाँ कुल बैठक भत्ता भुक्तानी गरिएको थियो । 

कम्पनीको अध्यक्ष शक्ति कुमार गोल्यान रहेका छन् भने कार्यकारी निर्देशक अक्षय गोल्यान छन् । तर, कार्यकारी निर्देशकको तलब सुविधा बारे भने उल्लेख छैन । 

बन्दीपुर केबलकार 

बन्दीपुर केबलकारले आव २०८१/८२ मा कम्पनीका सञ्चालक तथा उच्चपदस्थ पदाधिकारीलाई पारिश्रमिक तथा अन्य सुविधा बापत ३२ लाख ८६ हजार ६७८ रुपैयाँ प्रदान गरेको थियो । अघिल्लो आव २०८०/८१ मा पदाधिकारी एवं सञ्चालकहरूलाई कुल ४९ लाख ४८ हजार ७८६ रुपैयाँ प्रदान गरेको थियो । 

गत वर्ष कम्पनीले रामचन्द्र शर्मालाई ६ लाख २४ हजार २४१ रुपैयाँ, शिव प्रसाद शर्मालाई १५ लाख ६२ हजार ८५७ रुपैयाँ, तारानाथ उपाध्याय, कृष्णराज अधिकारी र हरिदत्त पौडेललाई समान ५ लाख ४९ हजार २४१ रुपैयाँ, किरण पोखेरललाई ४ लाख २४ हजार २४१ रुपैयाँ, रमा सापकोटालाई ५० हजार रुपैयाँ र बाबुराम अर्याललाई ७५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता बापत भुक्तानी गरेको छ । 

Share News