काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ ।
यही उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ ।
क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ ।
अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए ।
यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।