काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ६ महिनासम्ममा १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५७ हजार ३५२ बीमालेख जारी गरेर ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन्।
चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा १३ बीमा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार भित्र्याएको छ भने वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।
पुससम्ममा शिखर इन्स्योरेन्सले १ लाख ४७ हजार ६०९ वटा बीमालेख जारी गरेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ७.१९ प्रतिशतले बढेको छ ।
त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले समीक्षा अवधिसम्ममा १ लाख ३२ हजार २२ वटा बीमालेख जारी गरेर २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवका तुलनामा कम्पनीको व्यापार २.३४ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमाा कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेकोले पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले बढेको छ ।
पुससम्ममा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २.७३ प्रतिशलते वृद्धि भएको छ ।
त्यस्तै, पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो आवको तुलनामा चालु आवको पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १९.०५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३३.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशत, युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशत र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २०.३४ प्रतिशतले घटेको छ ।
