काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो । उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन स्वीकृत गरिएको थियो ।
प्राप्त आवेदनमध्ये ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।