होटेल फरेष्ट इनले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्नेछ । 

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

Share News