काठमाडौं । सर्वसाधारणको पहुँचलाई लक्षित गर्दै सैनिक मञ्चबाट दक्षिणतर्फको भागमा काठमाडौं महानगरपालिकाले वरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ ।
सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।
६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्न महानगरपलिकाले २ करोड ७० लाख रुपैयाँ खर्च गर्ने भएको छ । । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन् ।
महानगरले खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरेको छ ।